‘म प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई कुनै पत्र लेखेको छैन’ : झलनाथ खनाल

‘म प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई कुनै पत्र लेखेको छैन’ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन्।

शुक्रबार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताए। 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताएका थिए। नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौती दिए । उनले एमसीसीलाई पत्र लेख्ने कुरा डा.बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि शुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताए। नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्यो म पनि गल्ती गर्छु, भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको आरोप लगाए।

नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गरे। उनले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्न सक्ने बताए। उनले छिमेकी देश चीन र भारतका विरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे।

नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताए।  

Logo