करुणाको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै लेटाङ बजारमा प्रदर्शन

करुणाको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै लेटाङ बजारमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी ११ वर्षीया करुणा राईको करणी गरि हत्यामा संलग्नलाई कडाभन्दा कडा सजाय दिलाउन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। 

करुणा अध्ययन गर्ने जाँते बजारस्थित जाँते माध्यमिक विद्यालय परिसरबाट प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले लेटाङ बजारमा पुगेर नाराजुलुस गर्दै दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन्। उनीहरुले इलाका प्रहरी कार्यालय लेटाङ, लेटाङ नगरपालिकाको कार्यालय र स्थानीय वीपी चौकमा दोषीलाई कडा कारवाही गर्न माग गर्दै प्रदर्शन गरे। प्रदर्शनमा स्थानीय विद्यार्थी नेता रुपेश खड्का, प्रज्ज्वल ढकाल, अभियन्ता जय नारी, शान्ति पाख्रिन लगायतको समेत सहभागिता रहेको थियो। 

सयौंको संख्यामा सहभागी भएका विद्यार्थीहरुले दोषीलाई कडा कारवाही गर्नुपर्ने, ज्यामिरे क्षेत्रका विद्यार्थीलाई आवत जावत गर्न गाडीको व्यवस्था गर्नुपर्ने, मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, ज्यामिरे क्षेत्रमै कक्षा ८ सम्मको पठनपाठन सञ्चालन हुनुपर्ने, जाँते माविमा छात्राबास सञ्चालन गर्नुपर्ने र ज्यामिरे क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्नुपर्ने लगायतका माग राखेका छन् । 

प्रदर्शन पश्चात नगरपालिकामा भएको छलफलमा नगरपालिकाले दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन सम्बन्धित निकायलाई खबरदारी गर्ने, विद्यालय आवतजावत गर्नका लागि तत्काल सवारी साधन उपलब्ध गराउने, मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने लगायतका विषयमा सहमति गरेको छ। यस्तै ज्यामिरे क्षेत्रमै कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गर्न, जाँते माविमा छात्राबास सञ्चालन गर्न र ज्यामिरे क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापनाका लागिसमेत पहल गर्ने प्रतिवद्धता जनाएको छ। 

गत बुधबारदेखि हराइरहेकी करुणाको शव स्थानीय सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार बिहान भेटिएको थियो। प्रहरीले घटनामा संलग्न भएको आराेपमा स्थानीय ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ। गिरिले आफूले करणी पश्चात बालिकाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo