एमसीसी पास गरेपछि माओवादी केन्द्रमा तीव्र असन्तुष्टि, श्रेष्ठ समूहलाई फकाउँदै प्रचण्ड

एमसीसी पास गरेपछि माओवादी केन्द्रमा तीव्र असन्तुष्टि, श्रेष्ठ समूहलाई फकाउँदै प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

संसदबाट एमसीसी पास भएपछि माओवादी केन्द्र विभाजनको संघारमा पुगेको छ। विशेषगरि सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच टकराब बढ्दै गएको छ। 

एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसीको विरुद्धमा सडकमा कार्यकर्ता उतारेका सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आन्दोलन छाडेर संसदबाट एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिएपछि माओवादी नेता श्रेष्ठले खुलारुपमै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । 

सोही विषयलाई लिएर अहिले माओवादी पार्टीभित्र नेताहरू दुई धारमा विभाजित भएका छन्। एमसीसी अनुमोदनमा समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नारायणकाजी श्रेष्ठ धारका नेताहरूले माओवादी केन्द्र छाड्ने तयारी गरेका हुन्। नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलसहित केही पूर्वस्थायी समिति सदस्यहरू बाहिरिन सक्ने स्थिती देखिएको छ।

संसदबाट एमसीसी पास गर्ने क्रममा नारायणकाजी खेमाका नेताहरूले सार्वजनिकरुपमै असन्तुष्टि जनाएपछि माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै पार्टी छाडेर जान श्रेष्ठको टिमलाई चुनौती दिएका थिए। सोही विषय अहिले चर्किदै गएको छ। प्रचण्डले फागुन २० गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा आफ्नो असन्तुष्टि राख्न आग्रह गरे पनि नेता श्रेष्ठले सार्वजनिकरुपमै पार्टी निर्णयविपरित बोलेको भन्दै आलोचना गरेका थिए। 

त्यसपछि नेता श्रेष्ठ, गिरिराजमणि पोखरेल लगायतका नेताहरूले अध्यक्षले सार्वजनिकरुपमै चुनौती दिएपछि के गर्ने त भन्ने विषयमा आन्तरिक छलफलसमेत गरेका छन्। उनीहरुले आवश्यक परेमा नयाँ पार्टी निर्माणमा समेत लाग्नेगरि छलफल भएको बताएका छन् । 

यद्यपी फागुन २० गतेका लागि डाकिएको केन्द्रीय समितिको बैठकमा आफ्ना असन्तुष्टिहरू राख्ने उनीहरूको तयारी छ। पार्टीको बैठकमा उपस्थित भएर आफ्ना कुराहरू राख्ने र त्यसपछि के गर्ने भन्ने विषयमा टुंगोमा पुग्ने केन्द्रीय सदस्य जीवन गौतमले बताए। माओवादी दाङको इञ्चार्जसमेत रहेका नेता गौतमले  महाधिवेशनको निर्णय विपरीत एमसीसी अनुमोदन गराएको भन्दै श्रेष्ठसहितलाई नयाँ पार्टी बनाउन तल्लो तहका नेताहरूले तीव्र दबाब दिएपछि यस्तो छलफल चलेको हो। 

केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज जीवन गौतमले केन्द्रीय समिति बैठकमा आफ्ना कुराहरू राख्ने र त्यहाँ सम्बोधन नभएमा अगाडि के गर्ने भन्ने विषयमा टिममा छलफल गरेर अगाडि बढ्ने बताए । दुई जना सांसद् (गिरिराजमणि पोखरेल र अञ्जना विसङ्खे)ले एमसीसी अनुमोदनको विपक्षमा मत दिएको भन्दै त्यसपछि अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै पार्टी छाडेर जान भनेपछि स्वभाविक रुपमा अब के गर्ने भन्ने विषयमा आफ्नो समूह छलफलमा रहेको बताए।

‘एमसीसी पास गर्नु हुँदैन भन्ने पक्षमा हामी थियौँ। तर एमसीसी पास गर्ने भएपछि नारायणकाजीले आफ्ना धारणाहरू सार्वजनिक रुपमा राख्नुभो’, नेता गौतमले भने, त्यसपछि अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमा पार्टी छाडेर जान भन्नुभयो । त्यसो भनिसकेपछि स्वभाविकरुपमा के गर्ने भन्ने प्रश्न हाम्रो समूहमा उठ्यो । के गर्ने भन्ने विषयमा छलफलमा छौं।’ 

फागुन २० गते डाकिएको बैठकमा आफ्ना कुरा राखेर त्यसपछि थप के गर्ने भन्ने विषयमा टुंगोमा पुगिने उनको भनाइ छ। नेता गौतमले भने, ‘पहिले हामी केन्द्रिय कमिटीको बैठकमा आफ्नो कुरा राख्छौं। त्यसपछि के गर्ने भन्ने विषयमा हामी निर्णय गर्छौं।’

फागुन १५ गते बसेको संसद् बैठकबाट अमेरिकासँग ५० करोड अनुदान सम्झौता एमसीसी र ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको थियो । त्यसप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तीव्र असन्तुष्टि जनाएका थिए। ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइ छाडे’, नेता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं, नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ।’

संसदबाट एमसीसी पास गर्ने क्रममा नारायणकाजी खेमाका नेताहरूले सार्वजनिकरुपमै असन्तुष्टि जनाएपछि माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै पार्टी छाडेर जान श्रेष्ठको टिमलाई चुनौती दिएका थिए।

त्यसपछि पार्टीभित्रको असन्तुष्टि पार्टीकै बैठकमा राख्न भने पनि श्रेष्ठले बाहिर सार्वजनिक गरेको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरे। सोमबार पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठको नामै किटेर पार्टीमा भएको निर्णयविरुद्ध बाहिर लेखेको भन्दै आपत्ति जनाए। ‘यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैँतिर आउँछन्, केन्द्रित हुन्छन्, जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिकरूपमै बोलिदिनु भएछ,’ प्रचण्डले भने, ‘नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन्। उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि, एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए किन प्रेमजीको भएन ?’

एकता जोगाऔं : प्रचण्ड, तपाईँले निस्केर जा भन्नुभो : श्रेष्ठ
यसैबीच माओवादी अध्यक्ष प्रचण्डले एमसीसी पास गरेपछि असन्तुष्ट रहेका नेता नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । मंगलबार श्रेष्ठको निवास हरिसिद्धी पुगेर अध्यक्ष प्रचण्डले उनलाई भेटेका हुन् ।

एमसीसीका कारण माओवादीको एउटा पक्ष चरम असन्तुष्ट भएर पार्टी विभाजनका विषयमा समेत छलफल चलिरहेका बेला प्रचण्डले श्रेष्ठलाई भेटेर फकाउन कोशिस गरेका हुन् । 'अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध बनाएर जाऊँ, विवादबारे पार्टीकै आन्तरिक बैठकमा छलफल गरौँ भन्नु भयो', नारायणकाजीनिकट एक नेताले भने, 'अध्यक्षले पार्टी एकता बचाइराख्न जरुरी भएको कुरा राख्दै फेरि पनि छलफल गर्न अनुरोध गर्नुभयो।'

भेटमा प्रचण्डले एकता जोगाउन आग्रह गरेका थिए भने नेता श्रेष्ठले आफूले पार्टी छाडेर जान नचाहेको बताएका थिए। 'मैले पार्टी छाडेर जाने, पार्टीबाट हट्ने, पार्टी छाड्ने कुरा गरेको होइन’, श्रेष्ठको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने, ‘तर तपाईँले नै छाडेर जा भन्नु भो । वामदेव जसरी पार्टी छाडेर जानेलाई रोक्न नसकिने भनेपछि सोच्नुपर्ने अवस्था आयो।’ 

नेता श्रेष्ठले त्यस्तो भनेपछि प्रचण्डले आफ्नो भनाइ त्यस्तो नभएको स्पष्टीकरण दिएका थिए। ‘मैले त्यस्तो केही भनेको होइन। अलग सन्दर्भलाई लिएर भनेको कुरा पार्टीको धारणा होइन’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अहिले हामीले यताउता सोच्ने बेला होइन। बरु पार्टी एकता जोगाएर हाम्रा मतभेदहरूबारे बैठकमै छलफल गरौँ। हाम्रा मनहरू माझौँ।’ छलफलपछि नेता नारायणकाजीले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका छन्। यो विषयमा नेता प्रचण्ड र श्रेष्ठबीच पुनः छलफल हुने तयारी छ।

Logo