निजी क्षेत्रको बुद्ध एयरलाइन्सले बुधबारदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ। धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि पहिलो उडान भरेको बुद्धएयरका १८ यात्रुलाई स्वागत गर्नुका साथै धनगढीबाट पोखरा जाने यात्रुलाई बिदाइ गरे।
पोखरादेखि धनगढीसम्मको सिधा हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिमका बासिन्दाले काठमाडौँ हुँदै पोखरा जानुपर्ने बाध्यता हट्ने भई समय र पैसाको समेत बचत हुने देखिएको धनगढीस्थित बुद्धएयर स्टेशनका प्रमुख बुधराम माझीले बताए।
“पोखरा–धनगढी–पोखरासम्म आइतबार, बुधबार र शुक्रबार हप्तामा तीन उडान भर्ने गरि हवाई सेवा दिन सुरु गरेका छौँ”, माझीले भने, “यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरेका छौँ।” पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पोखरा धनगढीसम्म हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको बताए।
नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले मुक्तिनाथ र पोखरा भ्रमण गर्न चाहने भारतीयका साथै आन्तरिक पर्यटकलाई समेत लक्षित गरि पोखरा–धनगढीको सिधा हवाई सेवा सञ्चालन गर्न बुद्धएयर सहमत भएको बताए। “अहिलेसम्म हामी पर्यटकका लागि काठमाडौँको मात्र प्याकेज बनाउन पाउँथ्यौँ, सिधा हवाई सेवा सुरु हुँदा अब पर्यटकका लागि पोखराको पनि प्याकेज बनाउन पाउने भयौँ”, उनले भने, “यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।”
नाटा सुदूरपश्चिमले विगत केही वर्षदेखि नै पोखरा–धनगढीको सिधा हवाई सेवा सुरु गर्न विमान कम्पनीसँग आग्रह गर्दै आएको थियो। धनगढी विमानस्थलबाट काठमाडौँ–धनगढी–काठमाडौँसम्म बुद्धएयरलगायतका निजी विमान कम्पनीले दैनिक हवाई सेवा सञ्चालन गर्दै आएका छन्।





























प्रतिक्रिया