नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपक्षी दल नेकपा (एमाले)ले समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे । उनले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्। उनले एमसीसीका बारेमा अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाए।
आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरि राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनकाे भनाइ थियाे ।
नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसीसीमा पनि विमति हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गरे।
त्यस्तै उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए।
काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँको सभापतित्वमा भइरहेको जिल्ला कार्यसमिति बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलगायतका नेताको उपस्थिति थियाे। बैठक आगामी निर्वाचनका लागि सङ्गठन परिचालन, राष्ट्रिय राजनीतिका मुद्दाका विषयमा आफ्नो धारणा स्पष्ट पार्ने काममा केन्द्रित हुने कांग्रेसले जनाएको छ।





























प्रतिक्रिया