सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आशन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन्।
सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आशन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरि ठूलो सफलता हात पार्ने बताएका हुन्।
पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए । अध्यक्ष नेपालले भने,–‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दूमा राखेर त्यसको निम्ति प्रत्येक प्रालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको बिस्तार गर्दै चुनाव सम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ । जो जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल गरेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’
यसैबीच, नेकपा (एकीकृत समाजवादी) को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उनले बताए।
प्रवक्ता खतिवडाले कार्यकर्ताहरुलाई एकताबद्ध बनाएर आशन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए।





























प्रतिक्रिया