नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्षदेखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको छ।
जस अनुसार नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्याफ्टिङ्ग एजेन्सिज् (नारा)बीच तालिम सञ्चालनका लागि फागुन २३ गते सोमबार सम्झौता भएको छ । सम्झौतामा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी तथा (नारा)का तर्फबाट अध्यक्ष गंगाप्रसाद नेपालले हस्ताक्षर गरेका छन् । यसअघि पनि बोर्डले नारासँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै परियोजनाका राष्ट्रिय संयोजक तथा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले यो तालिमले जलयात्रा क्षेत्रमा थप नयाँ रोजगारी सिर्जना हुने बताए ।
सम्झौता अनुसार नाराले त्रिशुली, भोटेकोशी र कालीगण्डकी क्षेत्रमा गरि करिब एकसय जनालाई र्याफ्टिङ्ग सम्बन्धी तालिम प्रदान गरिने जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गतका नेशनल प्रोजेक्ट म्यानेजर तथा बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । पहिलो चरणमा पनि दोस्रो चरणको कार्यक्रम शुरु भएको छ ।
दुई सातासम्म सञ्चालन गरिने यो तालिमले स्थानीयस्तरमा जलयात्राको लागि नयाँ जनशक्ति तयार हुने अपेक्षा गरिएको नाराका अध्यक्ष गंगाप्रसाद नेपालले बताए ।
सम्झौता अनुसार जेठ १५ गते तीनवटै नदीमा तालिम सम्पन्न गरिने नाराका महासचिव शिशिर खनालले जानकारी दिए । त्रिशुली नदीमा देशैभरबाट र अन्य २ नदीमा त्यहाँकै स्थानीयलाई तालिम प्रदान गरिनेसमेत उनले जानकारी दिए । नाराका अनुसार हाल नेपालमा करिब सात सय तालिम प्राप्त र्याफ्टिङ गाइडहरु रहेका छन् भने यसमा अप्रत्यक्षरुपमा आश्रित जनशक्ति करिब २ हजारभन्दा बढि रहेका छन् ।
दुई वर्ष ६ महिना अवधिको यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरि कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । यो परियोजनाले पहिलो चरणमा पर्यटन क्षेत्रका करिब ६ हजार पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिएको छ । यस्तै दोस्रो चरणमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय जनशक्तिको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गरिने परियोजनाका जिविकोपार्जन विशेषज्ञ धर्मराज दवाडीले जानकारी दिए ।





























प्रतिक्रिया