आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस। आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ मायाभित्र नै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन्। महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अछुतो हुने कुरै भएन। नेपाली खेलकुदमा यस्ता महिला खेलाडी छन्। जसले नेपाल र नेपालीलाई सधै अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन्।
हामीले यस्ता पाँच खेलाडीकाे नाम तयार पारेका छाैं। जसले नेपालको शिर उँचो बनाएका छन्। यस पात्रमा पर्छन्, गौरिका सिंह, सावित्रा भण्डारी, सविताराज भण्डारी, आयशा शाक्य र संंगिना बैद्य ।
१. गौरिका सिंह, पौडी
२०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो। उनले उपलब्धि हासिल गरेकी थिइन् घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडी तर्फ चार स्वर्ण । यति मात्रै हैन उनले दुई रजत र तीन कास्य पनि जितिन्। यस अघि उनलाई कमैले चिनेका थिए । गौरिका धेरै लण्डनमा बस्छिन्। पौडी खेलाडी उतै अभ्यास गर्छिन्। मात्र नेपालमा प्रतियोगिताको अन्तिम तयारी र सहभागिताका लागि आउने गर्छिन्।
गौरिकाले सन् २०१६ मा भएको १२औं सागमा पनि एक रजत र तीन कास्य जितेकी थिइन्। गोवाहटीमा उनले प्राप्त गरेको उपलब्धी नै पौडीले जितेको पहिलो उपाधि रह्यो। उमेरले २० लाग्दै गरेकी गौरिका हालसमेत नेपाल बाहिर नै छिन्। महिला दिवसको दिन मात्रै हैन, हरेक महिलाको खेलकुदमा कुरा चल्दा गौरिका औंलामा गनिने खेलाडी हुन्।
२. सावित्रा भण्डारी, फुटबल
सावित्रा भण्डारी, उपनामले साम्बा अर्थात नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड। घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफूलाई स्थापित गर्ने चर्चित पात्रमा पर्छिन् साम्बा। गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसीयाली, जहिल्यै चर्चाको विषय रहन्छ।
देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाईसकेकी सावित्राले अन्तर्राष्ट्रिय गोल ३८ पुर्याउँदै उच्च गोलकर्ताको शीर्षस्थानमा आफूलाई उभ्याएकी छिन्। एपीएफ जागिरेसमेत रहेकी सावित्रा आफूले खेलेको प्रतियाेगितामा सधैं सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन्।
घरेलु फुटबलमा उनले गरेको गोलको कुनै लेखाजोखा नै छैन। मात्र छ त अन्तर्राष्ट्रिय खेलको । उनले एक महिला भएर यो स्थानसम्म आउनुमा सबै दुःख भोगेकी पनि छिन्। लमजुङकी साम्बाले नेपालको प्रतिनिधित्व गर्दै साफ च्याम्पियनसिप, साग गेम्स हुँदै ओलम्पिक छनोटको दोस्रो चरणसमेत खेलेकी छिन् । हाल चोटका कारण रिकवरी हुने तयारीमा रहेकी सावित्राले माल्दिभ्सको फुटसल लिग र भारतको महिला लिगमा समेत आफ्नो छाप छाडेकी छिन् ।
३. सविता राजभण्डारी, तेक्वान्दो
साविता राजभण्डारी हाल नेपालमा त छैनन् तर उनको चर्चा नेपालमा सधैं भइरहन्छ। यति मात्रै हैन, विशेष खेलकुद क्षेत्रमा। तेक्वान्दोकी यी खेलाडी नेपालको लागि एसियाली खेलकुदमा रजत पदक जित्ने एक मात्रै हुन्।
हाल अमेरिकामा रहेकी सविताले सन् १९९८ को डिसेम्बरमा आयोजना भएको १३औं एसियाली खेलकुदमा आफ्नो प्रतिभा देखाउँदै रजत पदक जिताइन्। घरेलु खेलकुदमा स्वर्णको चाङ लगाएकी सविताले यो उपाधिलाई अन्य नेपाली खेलाडीले भेट्टाउन सकेका छैनन्।
सविताले नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा समेत स्वर्ण पदक जितिन्। सन् २००२ यता अमेरिकामा रहँदै आएकी सविता विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का पाँचौ डान प्राप्त खेलाडी हुन्। सविताको नाम नेपाली खेलाडीको हरेक सफलता, असफलता र गतिविधिसँगै चलिरहेको हुन्छ।
४. आयशा शाक्य, तेक्वान्दो
नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशा शाक्यले दोहोरो स्वर्ण पदक जितिन्। महिला खेलाडीले पाएको सफलतामा यो पनि थोरैमा रहने गर्छ। ललितपुर पाटनकी आयशाले तेक्वान्दोमै साग गेम्समा चार स्वर्ण पदक विजयी तथा ओलम्पियन दीपक विष्टसँगै विवाह बन्धनमा बाँधिएकी छिन्।
११औं सागमा स्वर्ण तथा १२औं सागमा आयशाले रजत पदक जितेकी छिन्। दुई छोराकी आमा बनेर पनि नेपाललाई १३औं सागमा दोहोरो स्वर्ण पदक जिताएपछि आयशाको चर्चा झनै चुलिएको थियो ।
५. संगिना बैद्य, तेक्वान्दो
नेपाली खेलकुदले पाएको र सधैं चर्चामा रहने ठूलो नाम हो संगिना बैद्य। अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि गर्भ गर्न लायक क्षण कमै हुन्छन्। तर त्यसलाई संगिनाले परास्त गरिन्। सन् २००४ को फेब्रुअरीमा भएको एथेन्स ओलम्पिकका लागि तेक्वान्दोको छनोटमा एसिया र ओसियाना क्षेत्रको प्रतियागिताको संयुक्तरुपमा आयोजना भएको थियो।
थाईल्याण्डमा भएको उक्त महिला ‘फ्लाई वेइट’मा संगिता विजयी हुँदै ओलम्पिकमा छनोट भएर सहभागीता जनाउने पहिलो नेपाली खेलाडी बनेकी थिइन्। जसको चर्चा निकै नै भएको थियो र भइरहन्छ। नुवाकोट स्थायी भएकी संगिना हाल तेक्वान्दो प्रशिक्षकका रुपमा रहेकी छिन्। खेलाडीको रुपमा संगिनाले ३१ प्रतियोगितामा सहभागी भएर २० स्वर्ण, १ रजत र ४ कास्य जितेकी छिन्।न्युज कारखाना





























प्रतिक्रिया