त्रिभुवन आर्मी क्लब पाँचौं झापा गोल्ड कपको फाइनलमा पुगेको छ। अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।
आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान १ गोल गरे। सातदोबाटोका लागि दीपकसिंह ठकुरीले गोल गरेका थिए। आर्मीका लागि सुरुवाती दुई गोलमा सन्तोषकाे भूमिका रह्यो। पहिलो हाफमा १–१ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा आर्मीले ३ गोल थपेको थियो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा सुमन आर्यालको गोलबाट आर्मीले २७ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । सन्तोषको फ्रिकिकलाई सुमनले पोष्ट नजिकबाट गोल गरेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुशिल राईले पेनाल्टी बक्समा निकालेको पासमा दीपकले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।
दोस्रो हाफमा आक्रमणलाई तेज बनाएको आर्मीका लागि ५९ औं मिनेटमा सन्तोषले गोल गरेका थिए। टंक बस्नेतले पेनाल्टी बक्समा दिएको पासमा सन्तोषले गोल गरेका हुन्। टेकबहादुरले ३ मिनेटको फरकमा दुई गोल गर्दै आर्मीको जितलाई सहज बनाएका थिए।
८० औं मिनेटमा टेकबहादुरले व्यक्तिगत पहिलो र टोलीका लागि चौंथो गोल गरे। ८३ औं मिनेटमा कमल थापाको पासमा टेकबहादुरले अर्को गोल थपेका थिए।
आर्मीले सोमबार हुने फाइनलमा झापा ११ वा संकटा क्लबमध्ये एक टोलीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुनेछ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।





























प्रतिक्रिया