कुष्ठरोग उन्मुलनको लागि मधेश प्रदेश सरकारले विशेष अभियान संचालन गर्ने भएको छ। जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या, अवस्थाको विषयमा खोजतलास गरि उपचारको व्यवस्थापन गर्ने प्रदेश सरकारले जनाएको छ।
मधेश प्रदेश सरकारका प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तर्गतक्रिया समेत गरेको छ।
कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि धनुषामा तीन वर्षका लागि शुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउनका लागि पालिकाहरूको साथ तथा सक्रियता आवश्यक रहेकोमा जोड दिइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पुरा गर्नका लागि धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने बताए।
सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले कुष्ठरोगी पत्ता लगाउने तथा उनको सम्पर्कमा रहेकाहरूलाई औषधि खुवाउने अभियानले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुष्ठरोगको निवारणका लागि धनुषा जिल्लामा स्थानीय जनप्रतिनिधिहरूले बढी मिहेनत गर्न आवश्यक भएको बताए। जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिताकुमारी मिश्रले जनकपुरधाम कुष्ठरोगको दृष्टिकोणले उच्च जोखिममा रहेको बताउँदै कुष्ठरोगको निवारण अभियानमा उपमहानगरपालिकाले पुरा साथ दिने बताइन्।
कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले स्थानीय सरकारको साथ तथा सहयोगबिना कुष्ठरोगको निवारण कठिन भएको बताउँदै यसका लागि जनप्रतिनिधिहरूको सहयोग आवश्यक भएको बताए।





























प्रतिक्रिया