६ करोड ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डे काठमाडौंबाट पक्राउ

६ करोड ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डे काठमाडौंबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन्। काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको हो।उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । 

पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । 

पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए। तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरासमेत रहेका ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए। 

पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेतले एक करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए।

छोराविरुद्ध उजुरी परेपछि एमाले केन्द्रीय सदस्यसमेत रहेका मेयर घनश्यामले बस्नेत लगायतसँग छलफल गर्दै आएका थिए। उनले छलफल गरेर विवाद साम्य पार्ने प्रयास गर्नुका साथै पैसा तिर्ने वचनसमेत दिएका थिए। तर, पैसा नपाएपछि बस्नेतले अनुपले दिएको चेकको प्रमाणसहित प्रहरीमा उजुरी दिएका थिए। 

पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो। ठगी गरेकोबारे समाचारहरू प्रकाशित भएपछि ठेकेदार अनुपले विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गर्दै आएका थिए । उनले ठगी गरेको आरोप झुठा भएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै विज्ञप्ति नै निकालेका थिए।न्युज कारखाना

Logo