धनगढीमा चैत ६ गतेदेखि राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।
प्रतियोगिता सञ्चालन नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले सञ्चालन गर्नेछ। प्रतियोगिता बारेमा जानकारी दिंदै क्यानका प्रदेश अध्यक्ष हरि रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू–१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको बताए।
‘सिनियर क्रिकेट प्रतियोगिता जताततै भइरहेका छन्, ‘उनले भने, ‘तर यू–१९ स्तरका महिला खेल खासै सञ्चालन हुन सकेका छैनन्, तर क्रिकेटको आधार यू–१९ नै भएका कारण त्यसलाई बलियो बनाउन खोजेका हौं।’
प्रतियोगितामा ७ वटै प्रदेशबाट यू–१९ समूहको टोली सहभागि हुने उनले बताए। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख तथा उपविजेता टोलीलाई ३ लाख प्रदान गरिने उनले बताए।
क्रिकेटको राष्ट्रिय टोलीलाई बलियो बनाउन यू–१९ स्तरका घरेलु प्रतियोगिता हुन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले बताए। जबसम्म तल्लो स्तरबाटै स्तरिय खेडालीको पहिचान गर्न सकिंदैन तबसम्म राष्ट्रिय टोलीलाई बलियो बनाउन सकिंदैन,’ सिंहले भने, ‘प्रदेश सरकारले त्यही उद्देश्य अनुरुप यू–१९ महिला क्रिकेट सञ्चालन गर्न थालेको हो।’ धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता चैत ११ गते समापन हुनेछ।





























प्रतिक्रिया