नेपालमा रोजगारी नै भएन भन्ने युवायुवतीको संख्या धेरै छ। व्यापार गर्ने वातावरण भएन, लगानीका लागि आम्दानी छैन भन्ने पनि उठ्दै आएका सवाल हुन्। रोजगारीको सिलसिलामा लाखौं रुपैयाँ खर्च गरेर विदेश जाने पनि उत्तिकै छन्। तर काम सानो ठूलो केही हुँदैन भन्नेहरु पनि नभएका चाहीँ होइनन्।
थोरै लगानीबाट समेत व्यापार गरेर राम्रो आम्दानी गर्ने एक उदाहरणीय पात्र हुन् उदयपुरका भरत जिम्बा तामाङ। २२ वर्षिय भरत कक्षा १२ सम्म उदयपुरमै अध्ययन गरेर ०७३ सालमा काठमाडौँ पसे । घरमा आर्थिक अवस्था कमजोर हुनुको कारणले सुन्दर भविष्यको खोजी गर्दै भरत हजारौँ सपना बोकेर सहर पसेका थिए । काठमाडौंको व्यस्त बजार असन चोकमा हामीले सडकमै सेल पकाउँदै बेच्दै राम्रो आम्दानी गर्दै आएका भरत भेट्न सक्छौं। भरतले ५ वर्षदेखि काठमाडौँको असनमा आफैं सेल पकाएर बेच्दै आएका छन्।
उनी भन्छन्, “हजारौं सपना लिएर काठमाडौ आएको थिएँ, भनेजस्तो नहुने रहेछ, विरानो सहरमा काम नगरी बस्नै नसकिने ।”
असन चोकमा सानो ग्यास तथा बाटामा पिठो एकातिर छ, हतार हतारमा उनी र उनकी आमा सेल बनाउँदै बेच्दै गरेका भेटिन्छन् । उनको सेल किन्नेको ठूलै लाइन लाग्छ। अहिले यतिको अवस्थामा आउन भरतले विगतमा काठमाडौंका सडकमा धेरै नै मिहेनेत गरे।
भरतकी दिदी पहिलेदेखि नै असनमा सेल पकाएर बेच्ने गर्थिन्। भरतले अब म पनि केही काम गर्छु भनेर दिदीलाई सुनाउँदा उनले आफूले गरेको काम सिकाइन्। काम सिकेपछि सबै काम भाइलाई जिम्मा लगाएर आफ्नै कामतिर लाग्न भन्दै आएकी थिइन्।
परम्परागत चलनअनुसार महिला यो काम गर्ने पुरुष यो काम गर्ने भनेर छ्ट्याउने चलनले नै मान्छेलाई पछि पार्ने गरेको भरतको बुझाई छ। काठमाडौंको चमतिमा बस्दै आएका भरत बिहान ३ बजेबाट उठेर सामग्री तयार गर्दै आफ्नो दिनचर्यामा लाग्ने गर्छन्। घरको काममा आमालाई सहयोग गरेर बिहानै ५ बजेतिर सेल बनाउने सामग्रीसहित असन चोकतिर लाग्छन् ।
चोकमा मानिस सेलरोटी खानका लागि उनलाई नै कुरिरहेका हुन्छन्। उनले पकाएको सेलरोटी खान मानिसले लाइन बस्नुपर्छ। लाइन बसेर पहिले नै अर्डर गर्नुपर्छ । अहिले उनलाई छेउमा ३ जनाले काम सघाइरहेका छन्। एक्लै भएका भए सायदै पनि भ्याउँदैनथे होला। उनलाई छेउमा आमाले सेल पकाउन सघाउँछिन्। यति गर्दा पनि पालो बस्नैपर्ने हुन्छ। आमालाई भरतले नै काम सिकाएका हुन्।
चोकमा मानिस सेलरोटी खानका लागि उनलाई नै कुरिरहेका हुन्छन्। उनले पकाएको सेलरोटी खान मानिसले लाइन बस्नुपर्छ। लाइन बसेर पहिले नै अर्डर गर्नुपर्छ।
भरतले पकाएको सेलको सबैले खुलेर प्रशंसा गर्छन्। उनीहरु भन्छन्, ‘तिमी छोरो मान्छे भएर पनि कति राम्रो कति मिहेनतले काम गर्छौ।’ तर भरत जिम्बा भन्छन्, ‘आफूले गर्ने काम कुनै सानो ठूलो हुँदैन, महिलाले यो काम गर्ने, पुरुषले त्यो काम गर्ने भन्ने हुँदैन। आफूले मिहेनत गरेर काम गर्नुपर्छ अरुले के भन्छ भनेर सोच्ने नै हैन। सीप बेचेर खान के को लाज ?’ उनी थप्छन्, “मैले पकाएको सेल रोटीको सबैले प्रशंसा गर्नुहुन्छ, खुशी लाग्छ।”
भरतले पकाएको सेल त्यहाँ मात्र नभएर पसलमा समेत अर्डर गर्ने गर्छन्। उनले सेल बेचेर महिनाको ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म बचत गर्छन्। उनी भन्छन्,“पैसाको हिसाब गरिँदैन, सबै खर्च गरेर दिनमा १५ सय जम्मा गर्छु।”
यो काम गर्दा धेरै दुःख नपर्ने उनी बताउँछन् । धेरै दुःख नपर्ने भएकाले पछिसम्म यही काम गर्ने जिम्बाको सोच छ। उनी भन्छन्, “अरुको काम गर्दा गाली खाइन्छ, भनेको बेला विदा बस्न पाईंदैन, घाम पानी भन्न पाईंदैन, विरामी भएको बेला बस्न पनि पाईंदैन। आफ्नो काम गर्दा छुट्टै मज्जा आउँछ, सानो ठूलो जस्तोसुकै काम भएपनि आफ्नो भनेको आफ्नै हुन्छ। त्यसैले पछिसम्म यही काम गर्ने सोच बनाएको छु।”
उनी बिहान असन चोकमा सेल बेच्छन् र दिउँसोदेखि वेलुकैसम्म चमतीमा बेच्छन् । उनले पकाएको रोटी खाना शनिबार मात्र नभएर सधैं नै भिड हुने गर्छ।
भरतले पछिल्लो समय केही टिभी सिरियलमा समेत सेल बेचेको अभिनय गर्दै आएका छन्। मानिसमा क्षमता र आँट भएमा जुनसुकै काम पनि सहजै गर्न सक्ने दृष्टान्त भरतले देखाएका छन्। मुलुकमा रोजगारी भएन तथा विदेशीनु बाध्यता भएको भन्नेलाई भरतले थोरै लगानीमा राम्रो आम्दानी गरेर उदाहरणीय पात्रका रुपमा आफूलाई साबित गरेका छन्।





























प्रतिक्रिया