निलम्बित प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न शान्ति समाजकाे माग

निलम्बित प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न शान्ति समाजकाे माग

केन्द्रबिन्दु
0
Shares

मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरि कानुनी कारबाही अघि बढाउन माग गरेको छ। समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गरेकाे वक्तव्यमा उल्लेख छ। कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते सम्पन्न बैठकमा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी अधिकारकर्मी सहभागी थिए। 

‘बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको उनले जानकारी दिए। न्यायालय शुद्धिकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा दर्ता भएको  महाभियोगको प्रस्ताव पारित गरि निजलाई पदच्युत गर्न र अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरि कानुनी कारबाही गर्नसमेत बैठकले माग गरेको थियो।  
 
बैठकले रुसलाई तत्काल सेना फिर्ता गरि युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि योगदान गर्न आह्वान गरेको थियो। एक निष्पक्ष संस्थाको रुपमा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको विभिन्न निकायमा संलग्नताको सीमा सम्बन्धमा पनि बैठकले प्रस्ताव पारित गरेको थियो।
  
फागुन २८ गते बिहान साङ्केतिक रुपमा वाणगङ्गा नदीमा सफाइ कार्यक्रमसहित बैठक समापन गरिएको थियो। यसै सेरोफेरोमा रक्तदान, शान्ति र्याली, शान्ति दीप प्रज्वलनसहित आधादर्जन कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रमको सबै खर्च कपिलवस्तु शाखाले स्थानीयस्तरमा सङ्कलन गरी व्यहोरेको  थियो।

Skip This
Skip This
Logo