निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित भएको छ। एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ।
आसन्न निर्वाचनलाई केन्द्रित गरेर एमालेले देशभर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सातवटै प्रदेशलाई केन्द्र बनाएर एमालेले फागुन महिनाभर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ। प्रशिक्षण कार्यक्रमबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। गएको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमाले यसपल्ट पनि परिणाम दोहोर्याउने लक्ष्यसहित अगाडि बढेको छ।
सोही उद्देश्यअनुरुप अहिले एमालेका हरेक गतिविधि निर्वाचन केन्द्रित हुने गरेका छन्। एमालेले पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नेगरी छलफल अगाडि बढाएको हो।
उम्मेदवार मापदण्ड पारित
एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस तथा निर्णय गर्ने मापदण्ड पारित गरेको छ। एमाले सचिवालयको मंगलबार बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको हो। जसअनुसार एमालेले वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने प्रमुख गुरुङले बताए। महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्नेछ।
सचिवालयको बैठकमा आसन्न स्थानीय निर्वाचनमा केन्द्रित रहेर छलफल भएको र अब बस्ने केन्द्रीय कमिटीको बैठकले राजनीतिक प्रतिवेदनसहित दिशानिर्देशन गर्ने उनले बताए। चुनावी रणनीति बनाउन एमाले चैत ७ गते पोलिटव्यूरो बैठक र चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक डाकेको छ । चैत १३ गते पार्टी स्थायी कमिटीको बैठक बस्ने एमालेको तयारी छ।
पार्टी प्रवेश अभियान
निर्वाचनलाई केन्द्रित गरेर एमालेले देशभर पार्टी प्रवेश अभियान नै थालेको छ। सोही अभियान अन्तर्गत अन्य दलका प्रभावशाली नेता तथा सामाजिक व्यक्तिहरूलाई एमालेले पार्टी प्रवेश गराउँदै आएको छ। गत मंसिरमा चितवनमा सम्पन्न एमालेको दसौं राष्ट्रिय महाधिवेशनमै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।
एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस तथा निर्णय गर्ने मापदण्ड पारित गरेको छ। एमाले सचिवालयको मंगलबार बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको हो।
एमालेको पार्टी प्रवेश गराउने योजना अन्तर्गत नै वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी एमालेमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टीबाट मेयर जितेका सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओली वीरगञ्ज पुगेर पार्टी प्रवेश गराएका हुन्।
२०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। उद्योगी व्यवसायीको रुपमा परिचित सरावगी वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षसमेत भएका थिए । मधेश आन्दोलनताका मात्र राजनीतिमा सक्रिय भएका उनी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेशसँगै वीरगन्ज महानगरको मेयर चुनिएका थिए ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तथा पोखराका चर्चित व्यवसायी गणेशमान गुरुङ पनि एमालेमा प्रवेश गरेका छन्। जसपाका नेता अशोक राईनिकट गुरुङ एमालेमै फर्किएका हुन्। उनलाई स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आफै पोखरा पुगेका थिए । सोही कार्यक्रममा जसपा, कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए ।
बाँकेका नेता तथा पूर्वसांसद पशुपतिदयाल मिश्रसँगै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षित पनि एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तुबाट मंगलप्रसाद गुप्ता पनि एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले उनीहरूलाई एमालेमा स्वागत गरेका छन्। पर्साको जगरनाथपुर गाउँपालिकामा अध्यक्ष जालिम मियाँ पनि एमालेका प्रवेश गरेका छन् । उनलाई एमालेमा भित्राउन एमाले अध्यक्ष ओली आफै वीरगञ्ज पुगेका थिए।
पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन्। मधेश प्रदेशमा प्रभावशाली नेताको पहिचान बनाएका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिवकुमार झाले महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यस्तै मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसी पनि एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालयमै आयोजीत कार्यक्रममा एमाले अध्यक्ष ओलीले उनीहरूलाई एमालेमा स्वागत गरेका हुन् । ढकाल राजनीतिसँगै लेखन कार्यमा पनि सक्रिय छन्। उनले कम्युनिष्ट आन्दोलनबारे नेपाली र अंग्रेजीमा पुस्तक लेखेका छन् । अष्ट्रेलियाका लागि राजदूतसमेत बनिसकेका अजयका दर्जनौं मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु प्रकाशित छन् ।
एमालेले स्थानीय तहमा राम्रो प्रभाव बनाउन सफल नेताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्दै आएको छ। इलाममा माओवादी केन्द्रबाट स्थानीय तह जितेका एक मात्रै वडाध्यक्षलाई समेत एमालेले पार्टी प्रवेश गराएको छ। त्यस्तै माओवादीका पूर्वकेन्द्रीय सदस्य बाबुराम कौशिक पनि एमालेमा प्रवेश गरेका छन् । गाउँ कमिटीसम्ममा कम्तीमा एक जना भएपनि माओवादी पृष्ठभूमि भएका नेतालाई कमिटीमा समावेश गर्ने एमालेको रणनीति छ। माओवादीबाट आएकाहरुलाई जिम्मेवारी दिँदा एमालेले विशेष प्राथमिकतामा राख्दै आएको छ।
२०७४ सालको संघीय तथा प्रदेश प्रतिनिधिसभाका लागि एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएपछि केन्द्रमा करिब दुई तिहाई स्थान र सात मध्ये ६ प्रदेशमा जीत हासिल गरेको थियो। एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता गरेपछि बनेको नेकपा २०७७ फागुन २३ को सर्वाेच्चको फैसलापछि विभाजित भएको थियो । त्यसैगरी एमाले पनि गत भदौ २ गते विभाजित हुन पुगेको थियो । विभाजनले सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा बढी क्षति पुर्याएको एमालेको आन्तरिक मूल्याकंन छ ।































प्रतिक्रिया