निर्वाचन आचारसंहिता : दल तथा उम्मेदवारले २५ हजारभन्दा बढी चन्दा उठाउँदा बैंक मार्फत गर्नु पर्ने

निर्वाचन आचारसंहिता : दल तथा उम्मेदवारले २५ हजारभन्दा बढी चन्दा उठाउँदा बैंक मार्फत गर्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

स्थानीय निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी चन्दा उठाउँदा बैंक तथा वित्तीय संस्था मार्फत गर्नु पर्ने भएको छ। निर्वाचन आयोगले हालै ल्याएको निर्वाचन आचारसंहिता, २०७८ मा यस्तो व्यवस्था गरिएको हो। 

‘राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने,’ निर्वाचन आचारसंहितामा लेखिएको छ, ‘पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्नेछ।’ 

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्यरुपमा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्नेछ। 

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारीसमेत तोक्नु पर्ने आचारसंहितामा उल्लेख छ। खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम र विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्नेछ। 

व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नु पर्ने व्यवस्था आचारसंहितामा गरिएको छ। 

उम्मेदवार वा दलको आम्दानी–खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्नेछ । 

‘आयोगले खर्चको बिल भर्पाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भर्पाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने,’ निर्वाचन आचारसंहित, २०७८ मा उल्लेख छ। 

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरि प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोगमा बुझाउनु पर्नेछ।

Logo