काठमाडौं ।
सरकारी ल्याबको रिपोर्टको आधारमा मात्रै कोरोना बीमा भुक्तानी गर्न पाउने मापदण्ड रहेको बीमा समितिको निर्णयको चौतर्फी विरोध भइरहेको थियो । यसरी सबैतिर विरोध भएकाले कोरोना बीमा भुक्तानीमा बीमा समितिले बीमा मापदण्ड संशोधन गरेको छ।
आइतबार समितिले सरकारले तोकेका ल्याबको रिपोर्टका आधारमा मात्रै बीमा भुक्तानी पाउने मापदण्डलाई संशोधन गरेर निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइने गरी मापदण्ड बनाएको हो।
भदौ २९ सोमबारदेखि लागू हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले आइतबार कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको हो।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेश गर्नु पर्ने मापदण्डमा उल्लेख गरेको छ।
यस्तै मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि भने आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समुहको लगानी भएका अस्पताल वा प्रयोगशाला बाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ।
बीमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरेको छ। कोरोना बीमाको सबै प्रकृया पूरा गरेपछि ७ दिन भित्रै दाबी भुक्तानी गर्ने समितिले जनाएको छ।
त्यस्तै, समितिले अबदेखि कोरोना बीमामा एकल बीमालेख हटाएर सामुहिक बीमालेख मात्रै जारी गर्ने गरी मापदण्ड संशोधन गरेको छ।






























प्रतिक्रिया