एक महिनाभित्र नेपाली श्रमिकलाई उद्धार गर्न सरकारलाई समितिको निर्देशन

एक महिनाभित्र नेपाली श्रमिकलाई उद्धार गर्न सरकारलाई समितिको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्धार गरी एक महिनाभित्र नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा पुगेका र रोजगारी गुमाई अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई एक महिनाभित्र ल्याउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै समिति सभापति विमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुलाई ल्याउने सम्बन्धमा प्रभावकारी कार्यसम्पादन गर्न नसकेको भन्दै समितिको गम्भीर ध्यानाकर्षण भएको बताए । सभापति श्रीवास्तवले उद्धार कार्यमा आवश्यक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरुसँग समन्वय गरी कार्यसम्पादन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि निर्देशन दिए ।

त्यस्तै विदेशबाट ल्याइएका श्रमिकहरुलाई क्वारेन्टाइनमा राख्न र सम्बन्धित प्रदेश र स्थानीय तहसँग सहकार्य गर्न पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयान र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । साथै श्रमिकहरु रहेका मुलुकहरुसँग आवश्यक समन्वय गरी उद्धार कार्य प्रभावकारी बनाउन नसकेको भन्दै त्यस्ता निकायहरुसँग प्रभावकारी समन्वय गर्न र उद्धार कार्यमा कुनै पनि कमजोरी हुन नदिन पनि निर्देशन दिइएको उनको भनाइ छ ।

त्यस्तैगरी समितिले कोभिड–१९ का कारण रोजगारी गुमाएका नागरिकहरु भोकभोकै रहने अवस्था आइसकेकाले त्यसको तत्काल समाधान गर्न स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्य सम्पादन गर्न समेत नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । विदेशबाट आफै आउन नसक्ने गरी अलपत्र परेका श्रमिकहरुको यथार्थ सूचना संकलन गरी त्यस्ता नागरिकहरुलाई राज्यले खर्च व्यहोरेर ल्याउने व्यवस्था मिलउन समेत श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले विदेशबाट नेपाली श्रमिक ल्याउँदा नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई विदेशी उडान कम्पनीले नेपालमा उडान नभर्ने साउदी अरेबिया जस्ता देशमा केन्द्रीत गर्न र अन्य देशमा जुन एयरलाइन्सबाट ल्याउँदा छिटो हुन्छ त्यस्ता एयरलाइन्सलाई प्राथमिकता दिन पनि निर्देशन दिएको छ ।

Logo