विश्वमा कोरोना : भ्याक्सिन परीक्षण कहाँ पुग्यो ?

विश्वमा कोरोना : भ्याक्सिन परीक्षण कहाँ पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आठ महिना बितिसक्दा पनि भ्याक्सिन अनुसन्धानमै रहेको छ । धेरै भ्याक्सिनहरुको विभिन्न चरणमा परीक्षण चलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङक अनुसार, यो समाचार तयार पर्दासम्म विश्वभर २ करोड ८९ लाख ६० हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ९ लाख २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने २ करोड ८ लाख ४० हजार बढी निको भएका छन् ।

कोरोना भाइरसलाई एक महामारीको रुपमा घोषणा गरिएको छ महिना पुरा भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मार्च ११ मा यसलाई महामारीको रुपमा घोषणा गरेको थियो । डब्लूएचओका निर्देशक टेड्रोस गेब्रिसले देशहरुमा नेतृत्व र ऐक्यबद्धताको अभाव नै सबैभन्दा ठूलो चिन्ताको विषय रहेको बताएका छन् । उनले भने, ‘हामी विभाजित भएका कारण भाइरस बढी फैलिएको हो । यो भाइरस सबैसँगै मिलेर मात्र पराजित गर्न सकिन्छ ।’

अक्सफोर्ड युनिभर्सिटीले कोरोना भ्याक्सिनको परीक्षण फेरि सुरु गर्दै

एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोभिड १९ को भ्याक्सिन परीक्षण फेरि सुरु गर्ने भएको छ । पहिलो एक परीक्षणमा बेलायती बिरामीको साइड इफेक्टपछि रोकिएको थियो । ब्रिटेन नियामकहरुले अनुमोदन गरेपछि परीक्षण पुनः सुरु गरिएको हो ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, बिरामीको स्वास्थ्य बारेमा जानकारी गोप्यताका कारण प्रदान गरिने छैन तर बेलायतमा गरिएको परीक्षणमा एक स्वयंसेवकले ट्रान्सभर्स माऐलिटिस, एक इन्फ्लेमेटरी सिन्ड्रोम जसले हड्डीमा असर पारेको भन्दै रिपोर्ट गरेको थियो ।

एस्ट्राजेनेका कम्पनीले भने, ‘अध्ययन रोकेपछि भ्याक्सिनले साइड इफेक्ट भयो कि भएन भनेर अनुसन्धान गरियो ।’ तर, युनिभर्सिटीले शनिबार यसलाई जारी राख्न सुरक्षित भएको जनाएको छ ।
सोही अनुसार, स्वास्थ्य सचिव म्याट ह्यान्ककले पुनः परीक्षणको खबरलाई स्वागत गरेका छन् । उनले भने, ‘परीक्षण रोक्ने निर्णयले सुरक्षा हाम्रो लागि प्राथमिकता रहेको देखाउँछ । सुरक्षा सुनिश्चित गरिसकेपछि वैज्ञानिकहरुले चाँडै नै प्रभावकारी भ्याक्सिन ल्याउने काम गर्नेछन् ।’
त्यस्तै भ्याक्सिन बनाउने विश्व इतिहासलाई नियाल्ने हो भने, विश्वमा सबैभन्दा छिटो ग्लुलोपट्टी रोगको भ्याक्सिन पत्ता लागेको थियो । जुन भ्याक्सिन तयार पार्न वैज्ञानिकहरुले चार वर्ष लगाएको थियो ।

तर, कोरोना महामारी फैलिरहेको गति र यसले मानिसहरुको ज्यान लिइरहेको गतिलाई ध्यानमा राखेर यसको भ्याक्सिनको बिकास ऐतिहासिक रुपमा द्रुत गतिमा भइरहेको छ । वर्तमानमा, कोरोना महामारीको बिरुद्ध संसार भरिका २३ वटा परियोजनाहरुमा काम भइरहेको छ । तर, ती मध्ये केवल केही परीक्षणको मात्र तेस्रो अथवा अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म कुनै पनि भ्याक्सिन पूर्ण रुपमा सफल भने भइसकेको छैन ।

अन्तिम चरणको परीक्षण तयारीमा रहेका भ्याक्सिनहरु

१. अक्सफोर्ड कोभिड भ्याक्सिन

अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन परियोजना सीएचएडोक्स १ मा स्वीडेनकोे फार्मा कम्पनी एस्ट्राजेनेका पनि सामेल छ । अक्सफोर्ड युनिभर्सिटीको कोभिड भ्याक्सिन परीक्षण विश्वका विभिन्न देशहरुमा भइरहेको छ ।

मे महिनामा विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्या विश्वनाथले अक्सफोर्डको परियोजनालाई सबैभन्दा उन्नत कोभिड भ्याक्सिन रहेको बताएका छन् । यस भ्याक्सिन परियोजनाको पहिलो र दोस्रो चरणको परीक्षण अप्रिलमा इङल्याण्डमा एकै साथ पूरा भयो ।
१८ देखि ५५ वर्ष उमेर बीचका एक हजार भन्दा बढी स्वयंसेवकहरुमा गरिएको परीक्षणले भ्याक्सिनको सुरक्षा र जनताको प्रतिरक्षाको समीक्षा गरिएको थियो । यो अक्सफोर्ड युनिभर्सिटी भ्याक्सिन परियोजना हाल परीक्षण र बिकासको तेस्रो अथवा अन्तिम चरणमा पुगेको छ ।
अक्सफोर्ड कोभिड भ्याक्सिनको परीक्षणको अन्तिम चरणमा करिब ५० हजार स्वयंसेवकहरु संलग्न हुने आशा गरिएको छ । जसमा बेलायत, अमेरिका, ब्राजिल र दक्षिण अफ्रिका जस्ता देशहरुले परीक्षणका लागि आफ्नो सहभागिता जनाइरहेका छन् ।

यदि अन्तिम चरणका नतिजाहरु पनि सकारात्मक भएमा अक्सफोर्ड युनिभर्सिटीको अनुसन्धान टोलीले वर्षको अन्त्यसम्म बेलायतको नियामक निकाय मेडिसिन र हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीमा दर्ता गर्न आवेदन दिइनेछ ।

२. मोडर्ना कोभिड भ्याक्सिन

मोडर्ना आधुनिक भ्याक्सिन परियोजनाको अन्तिम चरणको परीक्षणको सुरुवातमा छ । मोडर्ना भ्याक्सिन परीक्षणको यस अन्तिम चरणमा ३० हजार व्यक्तिमा परीक्षण गर्ने तयारी भइरहेको छ । विज्ञहरुका अनुसार, नयाँ उत्पादितको यति ठूलो मात्रामा परीक्षण मात्र गरिन्छ । जब यो अन्तिम चरणमा पुग्छ तब अनुमोदनका लागि नियामक एजेन्सीहरु समक्ष प्रस्तुत गरिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यो कोरोना भाइरसको लागि अहिले सम्मको सबभन्दा छिटो भ्याक्सिन परियोजना भएको बताउँछन् ।

मोडर्नाको क्लिनिकल परीक्षणमा संयुक्त राज्य अमेरिकाको स्वास्थ्य राष्ट्रिय संस्थान (एनआईएच) पनि सामिल छ । एनआईएच निर्देशक कोलिन्स भन्छन्– ‘२०२० को अन्त्यसम्म कोरोना भ्याक्सिन बनाउने लक्ष्य राखिएको छ ।’

कोभिड १९ महामारीको लागि जिम्मेवार भाइरस कोभ–२ को आनुवंशिक संरचना प्राप्त गर्न मोडर्नालाई ४२ दिन लाग्यो । आधुनिक भ्याक्सिनको पहिलो चरणको नतिजा सकारात्मक आएको थियो । त्यस्तै, दोस्रो चरणको डाटा अगस्टको अन्त्यमा वा सेप्टेम्बरमा जारी हुने आशा गरिएको छ ।

३. चिनियाँ कोभिड भ्याक्सिन

चीनको निजी फार्मा कम्पनी सिनोवाक बायोटेकले काम गरिरहेको कोभिड भ्याक्सिन परियोजना परीक्षणको तेस्रो अथवा अन्तिम चरणमा पुगेको छ । सरकारको अनुमोदन अघि भ्याक्सिन मानवमा परीक्षण गर्नुपर्छ ।

यो विश्वमा मोडर्ना र अक्सफोर्डपछि परीक्षणको अन्तिम चरणमा पुग्ने तेस्रो भ्याक्सिन विकास परियोजना हो । कोरोनाभ्याक नामको भ्याक्सिन हाल ब्राजिलमा नौं हजार स्वयंसेवकहरुमा परीक्षण भइरहेको छ । कोरोना महामारीको लागि भ्याक्सिनको विकास भइरहेको गतिलाई ध्यानमा राख्दै, अर्को वर्षको सुरुमा सिनोभ्याक बायोटेकको भ्याक्सिन सरकारको अनुमोदनको लागि तयार हुन सक्ने देखिएको छ ।

२००२ देखि २००३ बीचमा सार्स महामारी फैलियो । यस महामारीबाट विश्वभर ७७४ जना व्यक्ति मरेका थिए । सोही समयमा सिनोवाकले भ्याक्सिन परीक्षणको पहिलो चरण सुरु गरेको थियो तर, उक्त महामारी अचानक समाप्त भयो । यद्यपी भ्याक्सिन प्रोजेक्ट बन्द हुँदा कम्पनीले ठूलो नोक्सान भोग्नु परेको थियो ।

उक्त महामारी फैलिएको १७ वर्षपछि विश्वमा कोरोना महामारी फैलिएको छ । सिनोवाकले आफ्नो पुरानो अनुसन्धान फेरी सुरु ग¥यो र कोभिड १९ सार्स महामारी जस्तै मिल्दो जुल्दो भएको पत्ता लगायो ।

४. फाइजर र बायोन्टेकको भ्याक्सिनहरु

अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी ‘बायोन्टेक’ कोभिड भ्याक्सिन परियोजना बीएनटी १६२ बी २ मा सँगै काम गरिरहेका छन् । यी दुई कम्पनीहरुले संयुक्त बयान जारी गरि परियोजना मानिसमा परीक्षणको अन्तिम चरणमा पुगेको बताएका छन् ।

यदि यी परीक्षणहरु सफल भए, अक्टोबरको अन्त्यसम्म ति भ्याक्सिनहरु सरकारी स्वीकृतिका लागि आवेदन दिन सक्षम हुनेछन् । कम्पनीले २०२० को अन्त्यसम्ममा १० करोड भ्याक्सिन आपूर्ति गर्ने र २०२१ को अन्त्यसम्म एक अर्ब डोज निश्चित गर्ने योजना समेत बनाएको छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरिएको यो भ्याक्सिन दुई डोज दिइनेछ । हाल विश्वभर १ सय २० ठाउँमा परीक्षणहरु भइरहेका छन् । यसमा ३० हजार स्वयंसेवकहरु सम्मिलित हुने अपेक्षा गरिएको छ । संयुक्त राज्य सरकारले फाइजरसँग दश करोड डोज खरीद गर्ने सम्झौता समेत गरिसकेको छ । उक्त सम्झौता अन्तर्गत ५० करोड डोज चाहिएको खण्डमा आपूर्ति गरिने पनि उल्लेख गरिएको छ ।

Logo