नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा छैठौं जित दर्ता गरेको छ । यूएईसमेत सहभागी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा मंगलबार नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्यो ।
योसँगै नेपालले १२ खेलबाट १२ अंक जोडेको छ । आफ्नो तेस्रो सिरिजको अन्त्यसम्म पनि नेपाल तालिकाको छैठौं स्थानमा कायम छ । पुछारमा रहेको पीएनजीको १६ खेलबाट २ अंकमात्र छ । उसले मंगलबार सकिएको सिरिजमा यूएईलाई पराजित गर्दैै पहिलो अंक जोडेको हो । यूएईले भने यो सिरिजबाट ६ अंक थपेको छ । उसले नेपालविरुद्धको दुई र पीएनजीसँगको एक खेलमा जित निकाल्यो ।
पीएनजीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । खराब ब्याटिङका कारण यूएईविरुद्धका दुवै खेल गुमाएको नेपालको ब्याटिङ मंगलबार भने आशलाग्दो देखिएको थियो ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिइएको पीएनजीविरुद्धको खेलमा आरिफ शेख र कुशल भुर्तेलले अर्धसतक बनाए । यस्तै रोहित पौडेलले उल्लेख्य पारी खेले । भुर्तेल ५० रनमा स्टम्पिङ हुँदा आरिफ ५९ र रोहित ४४ रनमा नटआउट रहे । पीएनजीले १९ रन अतिरिक्त दिएको थियाे । आशिफ शेख २ र दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए ।
चाल्स अमिनीले २ र काबाउ मोरियाले एक विकेट लिए ।
यसअघि दुबईमा पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
पीएनजीका लागि क्याप्टेन असाद भालाले सर्वाधिक ४५ र चाद सोपरले २२ रन बनाए ।
पीएनजीविरुद्ध कसिलो बलिङ गरेका सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सरार्फले समान एक-एक विकेट लिए ।
अब नेपालले घरेलु मैदानमा शुक्रबारबाट पीएनजीसँग एकदिवसीय तथा पीएनजी र मलेसियासँग टी-२० क्रिकेट सिरिज खेल्नेछ ।





























प्रतिक्रिया