ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब काठमाडौं सडनडेथमा क्यामरुनलाई पराजित गर्दै जारी छैठौं राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले सडनडेथमा पाखा लगाएको हो। मच्छिन्द्रले क्यामरुनलाई सडनडेथमा ६–५ गोल अन्तरले पाखा लगायो। ट्राइब्रेकरमा दुवैतर्फबाट ५/५ गोल भएपछि खेलको निर्णय सडनडेथबाट निकालिएको हो।
सडनडेथमा क्यामरुनका खेलाडी एस बोरीस अनलक्कि साबित भए । सडनडेथमा बोरिसको प्रहार क्रसबारमा लागेर फर्कियो । योसँगै मच्छिन्द्रले अन्तिम क्वाटरफाइनल खेलको नतिजा ६–५ गोल अन्तरको आफ्नो पक्षमा पार्यो। सडनडेथमा पहिलो प्रहार गरेका मच्छिन्द्रका देवेन्द्र तामाङले सहजै गोल गरेका थिए । खेल अवधिभर दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
त्यसमा पनि ५/५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको हो। खेल अवधिभर केही दबाब सृजना गर्न खोजेको मच्छिन्द्रले क्यामरुनमाथि सशक्त प्रहार भने गर्न सकेन। पहिलो हाफ सम्म दुवै टोली कडा प्रतिस्पर्धामा देखिए। खेलको १९औं र ५०औं मिनेटमा मच्छिन्द्रका लागि राम्रो अवसर बन्यो। तर, मच्छिन्द्रका नुरलन नुरुजोभले अवसर सदुपयोग गर्न सकेनन्।
यो मच्छिन्द्र र पाहुना टोली क्यामरुनको पहिलो भेट हो। पहिलो भेट नै मच्छिन्द्रको लागि लक्की साबित भयो । खेलमा मच्छिन्द्रको फिल्डिङ फिनिसिङ नहुँदा स्कोर गर्नबाट पटक पटक चुकेको थियो । खेल अवधिभर आफूलाई राम्रो फर्ममा राखेका मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ म्यानअफ दि म्याच घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।
जितसँगै ए डिभिजन क्लब मच्छिन्द्रले दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११, धनगढीसँग प्रतिस्पर्धा गर्नेछ। आजको भेटका लागि मच्छिन्द्रले एक खेल वाई पाएर सिधै प्रवेश पाएको हो भने, पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई पराजित गर्दै अन्तिम क्वाटरफाइनल यात्रा तय गरेको थियो ।
यस्तै प्रतियोगिता अन्तर्गतको बिहीबारको पहिलो सेमिफाइनल खेलमा आयोजक बागमती युवा क्लब बागमती र डिफेन्डिङ च्याम्पियनसमेत रहेको पिप्ले युवा क्लब हेटौंडाबीच प्रतिस्पर्धा हुनेछ। एक खेल वाई पाएर सिधै क्वाटरफाइनल यात्रा तय गरेको पिप्ले हिमालयन शेर्पालाई पराजित गर्दै सोमिफाइनलमा प्रवेश गरेको हो भने, आयोजक वागमती पनि एक खेल वाई पाएर क्वाटरफाइनलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार आकर्षक राजर्षि रनिङ सिल्ड र उपविजेताले ५ लाख ५ सय प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल चैत १३ गते आइतबार हुने आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।































प्रतिक्रिया