पीएनजीलाई लगातार दोस्रो जित निकाल्न २७९ रनको लक्ष्य

पीएनजीलाई लगातार दोस्रो जित निकाल्न २७९ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतक प्रेरित नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दोस्रो एक दिवसीय खेलमा दुई सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गर्‍यो ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए । उनको यो पहिलो एक दिवसीय शतक हो ।

स्कोरबोर्डमा पाँच रन जोड्दा दुवै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए ।

देव र दीपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । जुन एक दिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो ।

एक दिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए ।

यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भीम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे ।

नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए । 

Logo