समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो छ : मन्त्री रेग्मी

समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो छ : मन्त्री रेग्मी

केन्द्रबिन्दु
0
Shares

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएकी छिन्। 

सिजन मिडियाद्वारा आज राजधानीमा आयोजित ‘दोस्रो नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ वितरण समारोहमा बोल्दै उनले आफ्नै बाबुआमा तथा छोराछोरीलाई सडकमा पुर्याउनेजस्ता मानवता हराइरहेका क्रियाकलाप देखिएकाले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएका हुन् ।

मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उनीहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “समाजमा हत्या, हिंसा भइरहेको तथा आफैँलाई जन्म दिने बाबुआमालाई सडकमा पुर्याउने र आफूले पाएका छोराछोरीलाई सडक चौतारीमा पठाउने अवस्था रहेको देखिन्छ, यो मानवता हराइरहेको अवस्थामा धेरै समाजसेवीहरू आउन जरुरी छ।” उनले आफ्नो सुख, समय र कमाइ काटेर समाजसेवामा लागेकोप्रति धन्यवादसमेत दिइन्।

मन्त्री रेगमीले समाजमा धेरै विसङ्गति र विकृतिहरू कायमै रहेकाले त्यसलाई राज्यले मात्रै लठ्ठी लगाएर रोक्न नसकिने बताउँदै जबसम्म मानिसको मानसिकतामा परिवर्तन हुँदैन तबसम्म समाज परिवर्तन हुन नसक्ने बताइन् ।

प्रतिनिधित्वको हिसाबले राष्ट्रपतिमा महिला, संसदमा एकतिहाइ महिला र स्थानीय सरकारमा ४१ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले प्रतिनिधिभन्दा नेतृत्व तहमा पुग्न जरुरी रहेकाे बताइन्। घरको डाडु, पन्यू चलाउने महिला भएजस्तै राज्यको डाडु, पन्यू चलाउने ठाउँमा पनि महिला पुग्न सक्नुपर्नेमा उनले जोड दिइन्।

Logo