नेपाल राष्ट्र बैंकले गाडीको आयात रोक्न बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर गाडीका लागि लेटर अफ क्रेडिट (एलसी) नखोल्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकसँग विदेशी मुद्राको सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयातका लागि समेत नधान्ने भएपछि राष्ट्र बैंकले बैंकका सीईओहरुलाई बोलाएर यस्तो निर्देशन दिएको हो। छलफलमा राष्ट्र बैंको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा. प्रकाश श्रेष्ठ, विदेशी विनिमय विभागका रामु पौडेल लगायत सहभागी थिए।
छलफलमा विदेशी विनिमय विभागका प्रमुख पौडेलले विदेशी मुद्राको सञ्चिती घट्दै गएको भन्दै चिन्ता जनाएका थिए। गाडीको आयात यही रुपमा बढाउने हो भने विदेशी मुद्राको सञ्चिति अझै घट्ने भन्दै केही समयका लागि गाडी, चकलेट जस्ता वस्तुको आयात रोक्न एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन थियो ।
चालू आर्थिक वर्षको ७ महिनामा झण्डै ७० अर्बको गाडी तथा पार्टपुर्जा आयात भएको छ।सुपरीवेक्षण विभाग प्रमुख ढकालले बैंकहरुको कर्जा–निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी भएको भन्दै यसलाई चाँडो सीमाभित्रै ल्याउन आग्रह गरेका थिए।





























प्रतिक्रिया