नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन्।
नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वैशाख ३० मा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे।
‘वैशाख ३० मा चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडि सारेको छ– समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष पुगेको छैन।’
अध्यक्ष नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन् भएको समेत टिप्पणी गरेका छन्।
‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच वर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, उनीहरूको संबैधानिक अधिकारको हनन् भएको छ,’ नेपालले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिनामा पाँच वर्ष पुग्नेहरूको भावना विपरित छ।’ स्थानीय तह निर्वाचन ३० बैशाखमा गराउने सरकारको निर्णयविरुद्धमा भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसङ्ग उल्लेख नगरी त्यसतर्फ भने इगिंत गरेका छन्।
यद्यपि, ३० बैशाखमा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका ब्यक्त गरे पनि चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । ‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी ३० बैशाखका चुनावको तयारीमा जुटौं’ नेपालको भनाइ छ। नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एस स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनमार्फत पहिलो पटक चुनावी मैदानमा उत्रँदैछ।































प्रतिक्रिया