स्थानीय तहको निर्वाचन नजिकिँदै छ। तोकिएकै समय वैशाख ३० गते निर्वाचन भएमा अब चानचुन एक महिना मात्र बाँकी छ। जसका निम्ती अहिले राजनीतिक दलहरू उम्मेदवार चयनमा केन्द्रित भएका छन्। बीचमा कुनै राजनीतिक कोर्स परिवर्तन नभए केन्द्रमा सत्तारुढ दलको गठबन्धन भर्सेस प्रतिपक्षी दल नेकपा एमालेबीच निर्वाचन हुने देखिएको छ। त्यही तयारीका साथ अहिले दलहरू निर्वाचनमा होमिएका छन्।
केन्द्रमा एक भएर सत्ताको बागडोर सम्हाल्दै आएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सत्ता गठबन्धन देशभर एकैखाले गठबन्धन गरेर एमालेका विरुद्ध चुनाव लड्ने तयारी गरिरहेको छ। चुनावमा एमालेले भने एक्लैले सत्ता गठबन्धनको सामना गर्नुपर्नेछ। अन्तिम अवस्थामा यदि कुनै घटनाक्रम भएन भने निर्वाचन हुने पक्का छ।
साख फर्काउने सकस
०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ४० प्रतिशतभन्दा बढी स्थानीय तह जितेको थियो। त्यसो त प्रदेश नम्बर २ (हालको मधेश प्रदेश) बाहेक अन्य क्षेत्रमा सबैभन्दा बलियो उपस्थिति बनाउँदै एमाले पहिलो दल बन्न सफल भएको थियो।
अघिल्लो निर्वाचनमा जसरी एमाले पहिलो दल बनेको थियो त्यसरी नै अहिले त्यो साख जोगाउनेगरी अगाडि बढेको छ। स्थानीय तह चुनावमा पाँच वर्षअघिको जस्तै सफलता दोहोर्याउन एमालेले चुनावी अभियानलाई तीव्रता दिएको छ।
२०७४ सालको निर्वाचन जितेका सबै जनप्रतिनिधि अहिले एमालेसँग छैनन्। २०७८ साउन ९ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एस गठन भएको छ। जसका कारण देशभर एमालेका नेता कार्यकर्ता दुई वटा पार्टीमा बाँडिएका छन् । सँगै माओवादी केन्द्रसँग पार्टी एकता गरी नेकपा गठन भएपश्चात् देखिएको आन्तरिक कलह, पार्टी विभाजन हुँदै दुई तिहाइको बहुमत गुमाएर सत्ताबाट बाहिर हुनु जस्ता कारण पनि केही नेता कार्यकर्ता असन्तुष्ट छन्। यी सबैको प्रभाव निर्वाचनमा पनि पर्ने देखिन्छ। तर एमाले नेताहरू भने गएको स्थानीय निर्वाचन र यो निर्वाचनमा तात्विक भिन्नता नभएकाले यो निर्वाचन एमालेले नै जित्ने दाबी गर्छन्।
त्यसो त नेता गैरे पार्टी विभाजनले त्यति ठूलो असर नगर्ने बताउँछन् । हिजोका दिनमा एमाले जसरी निर्वाचनमा होमिएको थियो त्यसरी नै अहिले पनि होमिएको र माधव नेपाल नेतृत्वको एसले त्यति ठूलो प्रभाव नपार्ने उनको बुझाइ छ।
नेपाली कांग्रेस नेतृत्वकै सरकार रहेको बेला २०७४ सालमा कांग्रेस र माओवादीको गठबन्धनविरुद्ध एमालेले प्राप्त गरेको सफलता अबको निर्वाचनमा पनि प्राप्त हुने दाबी एमाले केन्द्रीय सदस्य ठाकुर गैरेको छ। 'हिजोको निर्वाचन पनि एमालेले एक्लै लडेको थियो। आजको निर्वाचन पनि हामी एक्लै नै लड्दैछौँ। हिजो पनि कांग्रेस नेतृत्वको सकारमा निर्वाचन भएको थियो र कांग्रेस-माओवादीको गठबन्धन थियो। आज पनि अवस्था ठ्याक्कै त्यस्तै छ', नेता गैरेले भने, 'त्यसैले यो निर्वाचनमा हामी कमजोर छैनौं। हाम्रो उपस्थिती बलियो छ। चुनाव जित्नेगरी हामी अगाडि बढिरहेका छौं र हामी चुनाव जित्छौं।' निर्वाचनको तयारीका सम्बन्धमा गरिएका भेला, बैठक, प्रशिक्षण जस्ता गतिविधि सम्पन्न गर्ने क्रममा एमालेको वास्तविक अवस्था स्पष्ट भएको उनको भनाइ छ।
त्यसो त नेता गैरे पार्टी विभाजनले त्यति ठूलो असर नगर्ने बताउँछन् । हिजोका दिनमा एमाले जसरी निर्वाचनमा होमिएको थियो त्यसरी नै अहिले पनि होमिएको र माधव नेपाल नेतृत्वको एसले त्यति ठूलो प्रभाव नपार्ने उनको बुझाइ छ। 'पार्टी विभाजनले एमालेलाई त्यति ठूलो असर गर्दैन। जति मत बाहिरिएको छ त्यति नै मत भित्रिएको अवस्था पनि छ', उनले भने, 'त्यसैले अबको निर्वाचनमा हामी नै पहिलो हुन्छौं। त्यहीअनुसार हामी अभियानमा लागिरहेका छौं।'
एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल पनि नेकपा एसले काट्ने मतको क्षतिपूर्ति भइसकेको बताउँछन् । 'पार्टी विभाजनले त्यति ठूलो मत काट्ने हामीले देखेका छैनौं। जति मत बाहिरिएको छ त्यति नै मत हामीले भित्र्याएका पनि छौं', नेता रिजालले भने, 'त्यसैले यो निर्वाचनमा एमालेको अवष्य जित हुन्छ। त्यही योजनाअनुसार हामी चुनावी अभियानमा छौं।'
गएको निर्वाचन ३ चरणमा सम्पन्न भएको थियो। वैशाख ३१, असार १४ र असोज २ मा भएका निर्वाचनबाट कुल ३६ हजार ६३९ जनप्रतिनिधि चुनिएका थिए। त्यसमध्येमा १४ हजार ९८ जना एमालेबाट मात्रै निर्वाचित भएका थिए।
मुलुकको राजधानी रहेको काठमाडौं महानगरसहित २ वटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १२३ वटा नगरपालिका र १७१ वटा गाउँपालिका प्रमुख/अध्यक्ष एमालेले जितेको थियो । त्यसैगरी १ महानगरपालिका, ७ उपमहानगरपालिका, १३७ नगरपालिका र १८६ गाउँपालिकाको उपप्रमुख एमालेले जितेको थियो। कुल ७५३ स्थानीय तहमध्ये ३३१ ठाउँमा एमालेले उपाध्यक्ष जितेको थियो।
यसैगरी २ हजार ५ सय ६० वडाको वडाध्यक्ष, २ हजार ७ सय ७६ वटा महिला सदस्य, २ हजार ६ सय ८० जना दलित महिला सदस्य र ५ हजार ४ सय ५८ वटा खुला वडासदस्यसहित १४ हजार ९८ पद एमालेले जितेको थियो।





























प्रतिक्रिया