नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लामा कम्तीमा एउटा पालिकामा महिलालाई प्रमुखको उम्मेदवार बनाउने भएको छ । सोमबार जिल्ला अध्यक्ष, इन्चार्जलाई आन्तरिक सर्कुलर जारी गर्दै एउटा जिल्लामा कम्तीमा एउटा पालिकामा महिला प्रमुख र एउटा पालिकामा कम्तीमा एउटा वडामा महिला अध्यक्षको उम्मेदवार बनाउने भएको हो ।
आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि वैशाख ५ गतेभित्र उम्मेदवारको सिफारिस गरिसक्न माओवादीले निर्देशन दिएको छ । स्थानीय तहमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न त्यस्तो सर्कुलर गरिएको बताइएको छ ।
नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्नेु, परिपत्रमा भनिएको छ,सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने । जसको अनुमोदन केन्द्रीय कार्यालयबाट गराउने ।
त्यस्तै केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई प्राथमिकता राख्दै तालमेलको सम्भावना नभए केन्द्रको स्वीकृति लिएर मात्र निर्णय गर्न सर्कुलरमा उल्लेख गरिएको छ । गठबन्धन तालमेलका लागि प्राथमिकताका साथ जोड दिने तर केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरूबिच प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिनुपर्ने माओवादीले निर्णय गरेको हो । त्यस्तो अवस्थामा पनि गठबन्धन दलका बिचमा स्वस्थ प्रतिस्पर्धा मात्रै गर्न पाउने माओवादीले निर्णय गरेको छ ।
वडा अध्यक्ष र सदस्यको हकमा भने स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन गरेको छ । वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नेु, परिपत्रमा भनिएको छ । माओवादीले ७७ जिल्लाबाटै महिला प्रतिनिधित्व गराउने भन्दै कम्तीमा एक जना पालिका प्रमुख वा अध्यक्षको नाम सिफारिस गर्नुपर्ने बाध्यकारी नियम भने पहिलो पटक लगाएको हो ।
स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयका सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्ष र प्रत्येक पालिकाअन्तर्गत कम्तीमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्नेु, माओवादीले जारी गरेको विशेष परिपत्रमा उल्लेख गरिएको छ ।
महानगर र उपमहानगरपालिकामा सके सर्वसम्मत‚ सर्वसम्मत नभए बढीमा तीन जना उम्मेदवारको नाम सिफारिस गर्न समेत निर्देशन दिएको छ । तीन जनाबाट प्राथमिकताको आधारमा केन्द्रले निर्णय गर्ने निर्देशनमा उल्लेख छ । महानगरबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एसलगायतका राजनीतिक दलले सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीलाई नै अधिकार दिएको बेला माओवादीले भने केन्द्रीकृत गरेको हो ।
कांग्रेस र एमालेलगायतले औपचारिक निर्णय नै गरेर आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय कमिटीहरूलाई दिए पनि माओवादीले भने त्यो अधिकार पनि दिएको छैन । परिपत्रमा भनिएको छ,स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समितिहरूले सर्वसम्मत भए एकरएक जना सर्वसम्मत नभए प्राथमिकताको क्रममा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने । केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गरी पठाउनेछ ।
सोमबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले देशभर ठाउँ र आवश्यकता अनुसार चुनावी तालमेल गर्न, आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न गठबन्धनमा रहेका दलका नेता कार्यकर्तालाई संयुक्त अपिल जारी गरेका थिए । गठबन्धनको अपिल जारी भए लगत्तै प्रचण्डले पार्टी पङ्क्तिलाई विशेष परिपत्र जारी गरेका हुन् ।





























प्रतिक्रिया