एसिड आक्रमणमा कठोर बन्दै प्रधानमन्त्री ओली (भिडियोसहित)

एसिड आक्रमणमा कठोर बन्दै प्रधानमन्त्री ओली (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रतिबद्धता जनाएका छन्।

एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँग आफ्नै निवास बालुवाटारमा भएको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाएका हुन् । एसिड आक्रमण जस्तो जघन्य अपराधमा संलग्नलाई कारवाही गर्न अहिलेसम्म कडा कानून नभएको उल्लेख गर्दै उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार हुने बताए ।

भिडियो :

 

कोरोना महामारीका कारण संसदबाट कानून ल्याउन समय लाग्ने भएकाले अध्यादेश मार्फत कानूनको मस्यौदा तयार गरिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा संलग्न व्यक्तिको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था कानूनमा हुने बताए । पीडितका लागि वास्तविक क्षतिपूर्ति भन्ने नभए पनि अपराधिबाट औषधिको व्यवस्था लामो समयसम्म गराउने, उपचारको प्रवन्ध मिलाउने गरी उसको सम्पत्ति रोक्का गरिन्छ । रोक्का गरिएको सम्पत्ति उपचारका लागि अपुग भएपनि तत्काल रोक्का गरी जफत गरिने उनले बताए।

प्रधानमन्त्री ओलीले आक्रमणमा परेको पीडितलाई तत्काल अस्पताल पु¥याउने प्रवन्ध गर्दा असहयोग गर्नेलाई पनि कारवाहीको भागिदार बनाउने गरी कानूनमा व्यवस्था गरिने बताए । उनले स्वास्थ्योपचारका लागि त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने बताए ।

प्रधानमन्त्री ओलीले घटना घटेको अवस्था देखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा व्यवसाय तथा रोजगारीको सम्पूर्ण जिम्मा सरकारले लिने घोषणा समेत गरेका छन् ।

१२ जना एसिड पीडितहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफूले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा आए भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने तथा सम्भव भए सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत उनले बताए ।

बालुवाटारमा भएको भेटमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङफे महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थिति रहेको थियो ।

Logo