जिल्ला प्रहरी कार्यालय खोटाङले लिखतसम्बन्धी कसुर गर्ने पत्रकारलाई पक्राउ गरेको छ। अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण बिभागमा अनलाइन मिडिया दर्ता गरेको भन्दै उजुरी परेको आधारमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई पक्राउ गरेको हो ।
हलेसीपार्टी डटकम नामक अनलाइन दर्ता गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौंमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेको प्रमाणपत्र पेश गरेका थिए। तर उनले अर्काको नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लव्धांकपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरि सरकारी छाप दस्तखत किर्ते कागजातको आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले प्रतिवादी गिरीलाई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले विज्ञाप्तिमार्फत जानकारी दिएका छन्।
गिरीलाई जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप अनुमति लिएर हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।





























प्रतिक्रिया