ललितपुर अक्सिजन प्लान्ट विस्फोटमा २ जनाको मृत्यु, ६ घाइते

ललितपुर अक्सिजन प्लान्ट विस्फोटमा २ जनाको मृत्यु, ६ घाइते

केन्द्रबिन्दु
0
Shares

ललितपुर औद्योगिक क्षेत्रमा भएको विस्फोट परी मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतका ४५ वर्षीय बृजमोहन महतो रहेको ललितपुर प्रहरीले बताएको छ । 

अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा भारत बिहारका ४५ वर्षीय महतोको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
त्यसैगरी भारतकै अर्का एकजना मजदुरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

 तर उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै भारतीय नागरिक रहेको बुझिएको छ । घटनामा दुई महिलासमेत घाइते भएका छन् ।  घाइतेहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् । दुर्घटनास्थलमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायतका टोली पुगेका छन् । घटनाको कारणबारे अहिले अनुसन्धान भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको छ । घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

 उनले भने, ‘मानिसका शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन । धेरै नै इनर्जीका साथ विस्फोट भएको देखिन्छ । घटनास्थलको अवस्था निकै भयावह देखिन्छ ।’विस्फोट हुने बेलामा उद्योगमा १० जना कार्यरत रहेको बताइएको छ ।

अक्सिजन भर्ने क्रममा बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले बताए । उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी समेत दिए । 

छानबिन गर्न गृहमन्त्रीको निर्देशन 

यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले ललितपुरको औद्योगिक क्षेत्रभित्र अवस्थित सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको घटना छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।
 

 

 

Skip This
Skip This
Logo