नेकपा एमालेले सरकार गठनको सम्भावनालाई हेरेर गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई स्थानीय तहमा उम्मेदवार नबनाउने भएकाे छ।
बिहीबार पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेकाे सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे। प्रदेशका माननीयको संख्या नघटाउने एमालेको तयारी रहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैठकमा एकल सिफारिस आएको बाहेक अन्य विषयमा पनि छलफल भएको छ। ६ महानगर र ११ उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखमा प्रदेश कमिटीले पठाएको सिफारिसको बारेमा पनि छलफल भएकाे थियाे ।
एमालेले आगामी वैशाख १० गते ३ बजे पुनः सचिवालय बैठक बसेर उम्मेदवार टुंगो लगाउने भएकाे छ। ६ महानगरमध्ये ललितपुरबाट हरिकृष्ण ब्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगञ्जबाट विजय सरावगीको प्रमुखमा एकल सिफारिस आएको छ।
बाँकी महानगर तथा उपमहानगरपालिकामा धेरै जनाको सिफारिस आएको छ। ती नामहरुमाथि सामान्य छलफल मात्रै भएको छ।
भोलि पार्टी स्थापना दिवसको कार्यक्रमको अवसरमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले पार्टी केन्द्रीय कार्यालयको उद्घाटन हुने पनि बताइएकाे छ। भाेलि नै स्थानीय निर्वाचन केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गर्ने एमालेकाे तयारी छ।
स्थानीय तहमा एमालेले तालमेल गरेका बाहेक सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग पनि एकता हुनसक्ने गुरुङले बताए ।





























प्रतिक्रिया