काठमाडौं ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले भदौं पहिलो साताबाट उपत्यकामा लागू गरेको निषेधाज्ञालाई बुधबार खुकुलो बनाउने निर्णय गरेको छ । तर खेलकुद क्षेत्र भने अझै अनिश्चित नै छ । खेलकुद क्षेत्र बन्द गर्ने यसअघिको निर्णय निषेधाज्ञा खुकुलो भए पनि कायमै रहेको छ ।
पछिल्लो समय मुलुकभर कोरोना संक्रमण डढेलो झै फैलिएको छ । उपत्यकाका तीन जिल्लामा पनि कोरोना संक्रमण फैलिएको भन्दै सरकारले भदौ ३ गतेदेखि २४ गतेसम्म विभिन्न चरणमा निषेधाज्ञा लागू गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाले जनजीवनमा प्रत्यक्ष असर गरेको भन्दै आज (बिहिबार)बाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् ।
सोही निर्णय अनुसार आजबाट यातायातका साधानहरु जोर–बिजोरको आधारमा सञ्चालन गर्नेदेखि विभिन्न पसल तथा व्यापारिक गतिविधि शर्तसहित सञ्चालन गर्न दिने स्थानीय प्रशासनले निर्णय गरेका छन् । तर सरकारले जिमखानासहित खेलकुद गतिविधि र खेल प्रस्तुतीलाई बन्द गर्ने निर्णय भने कायमै गरेको छ ।
सरकारले यसअघि भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षण गर्न अनुमति दिने निर्णय गरेको थियो । सोही अनुसार विभिन्न खेल संघहरुले खेलाडीको प्रशिक्षण सञ्चालन गर्ने तयारी समेत गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको अभ्यासका लागि ‘प्रोट्रोकल’ तयार पारि एन्फा प्रशिक्षणको तयारीमा जुटेका थिए । खेलाडीले अभ्यासका दौरान पालना गर्नु पर्ने नियमको निर्धारण समेत गरेको थियो । एन्फाले छलफल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले दिएको निर्देशन अनुसार अभ्यासका लागि ‘प्रोट्रोकल’ तयार पारिएको थियो ।
एन्फाले विश्वकप छनोट खेलको प्रशिक्षणका लागि ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको थियो । तर खेलाडीहरुको कोरोना परीक्षण गर्दा एक जनामा सकारात्मक नतिजा आएपछि एन्फाले सम्पूर्ण तयारी स्थगित गर्नु परेको थियो ।
संक्रमण बढेको भन्दै उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा सुरु भएपछि खेलकुद प्रशिक्षण अनिश्चित समयलाई स्थगित बनेको छ । चैतको पहिलो साताबाट घरेलु खेलकुदका सम्पूर्ण गतिविधिहरु प्राय ठप्प छन् ।
सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाले खेलाडीहरु घर बाहिर निस्केर प्रशिक्षण गर्न पाएका छैनन् । खेलाडीहरु प्रशिक्षणमा सहभागी नभएको ६ महिना बितिसकेको छ । तर खेलकुदका सम्बन्धित निकायसँग खेलाडीलाई प्रशिक्षणमा निकाल्ने कुनै योजना बनाएको देखिदैन ।
युवा तथा खेलकुद मन्त्रालय र खेलकुदको कार्यकारिणी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना कहरका कारण देखाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएको बताउने गरेका छन् । सामान्य अवस्थामा समेत खेलाडीको नियमित प्रशिक्षण नगराउने धेरै खेलकुद संघहरुलाई कोरोना भाइरसले ठूलो बाहाना मिलेको छ ।
कोरोना भाइरसबाट बढी प्रभावित भएको युरोपमा कोरोना कहरकै बीचमा फुटबल सहित खेलकुद गतिविधि सञ्चालनमा आईसकेका छन् । नेपालका छिमेकी देशहरुमा समेत डब्लूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढाउन खोजिरहेका छन् । तर नेपालमा भने लकडाउनलाई कारण देखाएर विगत ६ महिनादेखि खेलाडीलाई घरमै थुनिएर राखिएको अवस्था छ ।
यसरी सामान्य अभ्यास र प्रशिक्षणका कार्यक्रम समेत सञ्चालन गर्ने योजना खेलकुद सम्बन्धि निकायले बनाउन नसक्दा खेलाडीहरुलाई प्रत्यक्ष असर पारेको छ । दैनिक मैदानमा अभ्यासका लागि रहने उनीहरुलाई शारीरिक रुपमा अझै बढी असर पुगेको छ । खेलकुद बिज्ञ तथा खेलाडीहरु अभ्यास र प्रशिक्षण सुरु गर्ने योजना ल्याउनुपर्ने माग गरिरहेका छन् । तर खेलकुदका जिम्मेवार निकाय कोरोना कहरको कारण देखाउँदै खेलाडीलाई मैदान निकाल्ने योजनामा उदासिन छन् । यस्तो खालको योजनाले भविष्यमा खेलकुद क्षेत्रले ठूलो समस्याको सामना गर्नुपर्ने देखिन्छ । यसका साथै खेलाडीहरुको भविष्यसमेत धरापमा पर्ने देखिन्छ ।





























प्रतिक्रिया