स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् ।
३० वैशाखमा हुन गइरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागबन्डामा पारिदिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो ।
विशेषतः नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले माग नगरेका क्षेत्रमा पनि भागबन्डा गरेर कांग्रेसको संगठन कमजोर बनाएको भन्दै स्थानीय तहमा राजीनामा र तालाबन्दीको लहर चलेको छ ।
चितवन
भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा दिने निर्णय अघि र पछि चितवन कांग्रेसले विरोध र आपत्ति जनाउँदै आएको थियो । तर, केन्द्रीय गठबन्धनले स्थानीय तहको आग्रहविपरित भरतपुर माओवादीलाई दिएपछि चितवन कांग्रेसमा विग्रह भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निर्णयप्रति आपत्ति जनाउँदै चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रवार तालाबन्दी गरिएको छ ।
केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरूको उपस्थितिमा सो तालाबन्दी गर्दै केन्द्रीय निर्णय सच्चाउन माग गरेका छन् । २ सय ५० भन्दा बढी कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरिसकेका छन् ।
जनकपुर
जनता समाजवादी पार्टीलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको भागबन्डा पारेको भन्दै नगर सभापति मनोजकुमार साहसहित २ सय ५० जना भन्दा बढीले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
शुक्रवार जनकपुरधारमा पत्रकार सम्मेलन गर्दै नगर सभापति साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणालाई नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, जनकपुरधाम–१५ का वडा सभापति नन्दलाल साहसहितले साथ दिएका छन् ।
कैलाली
कांग्रेसको नेतृत्व छाडेर अन्यलाई टिकट दिएको भन्दै कैलालीस्थित धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामाको घोषणा गरिसकेका छन् ।
नगर सभापति यज्ञराज उपाध्यायसमक्ष बुझाएको राजीनामा पत्रमा पार्टीको साधारणसमेत नरहने गरी कांग्रेस परित्याग गरी स्वतन्त्र रहन चाहेको उल्लेख छ ।
वीरगंज
वीरगंज महानगरपालिकासहित पर्साका १६ वटै स्थानीय तहमा कांग्रेस एक्लै लड्ने निर्णयसहित नगर समितिले पत्रकार सम्मेलनमार्फत घोषणा नै गरिसकेका छन् ।
मधेस प्रदेशको १ मात्र महानगर वीरगंज जसपा नेपाललाई दिने संकेत पाउने बितिक्किै अघिल्लो बुधवार पत्रकार सम्मेलन नै गरेर कांग्रेसले पर्सामा एक्लै चुनाव लड्ने निर्णय गरिसकेको थियो । १ वैशाखमा जिल्ला समितिको बैठकले पर्सामा कांग्रेस एक्लै चुनाव लड्ने निर्णय गरेको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी गराइसकेका छन् । पर्सामा १ महानगरपालिका, ४ नगरपालिका र १० गाउँपालिका छन् ।
सो निर्णय लगत्तै ३ वैशाखमा बसेको कांग्रेस र जसपा नेपालको संयुक्त बैठकले अलग अलग रूपमा मित्रवत् प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्ने निर्णय गरेका थिए । सो निर्णयमा कांग्रेसका जिल्ला सभापति क्षेत्री र जसपा नेपालका रामनरेश प्रसाद यादवले हस्ताक्षरसमेत गरिसकेका छन् ।
हेटौडा
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले माग नगर्दा पनि सो पार्टीलाई हेटौडा भागबन्डामा पारेको भन्दै मकवानपुर कांग्रेस आक्रोशित हुन पुगेको छ ।
हेटौडालगायत अन्य स्थानीय तहको भागवण्डाका लागि गत बिहीबार बसेको पाँच दलीय गठबन्धनको बैठक निष्कर्षबिहीन भएपछि पुनः शुक्रवार बोलाइएको थियो । तर, शुक्रवार हेटौंडामा बैठक बस्न सकेन ।
नेकपा एसलाई हेटौडा दिने देखिएपछि गत ६ वैशाखमा तालाबन्दीसमेत गरिएको थियो । कांग्रेस नगर समितिमा बैठक बसिरहँदा केन्द्रीय निर्णयप्रति आपत्ति जनाउँदै गरिएको तालाबन्दी दुई घण्टापछि खोलिएको थियो भने कांग्रेस नगर समितिले पनि आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गर्ने अवस्था सिर्जना भएको थियो ।
गत निर्वाचनमा थोरै मतले पराजित भएको उल्लेख गर्दै हेटौडाको मेयर कांग्रेसले पाउनु पर्ने भन्दै सभापति आनन्दराज पराजुलीले स्वतन्त्र उम्मेदवारीको चेतावनी दिएका छन् ।
पोखरा
भागबन्डामा नेकपा एसलाई पोखरा महानगरपालिका परेपछि बुधवार गरिएको तालाबन्दी बिहीबार बिहान खुला गरिएको थियो ।
पूर्व मन्त्री यज्ञवहादुर थापालगायतका नेता काठमाडौं आएर सभापति देउवालाई पोखरा नछाड्न आग्रह गर्दागर्दै पनि नेकपा एसलाई दिइएको भन्दै आक्रोशित कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
यद्यपि जिल्ला सचिव गणेशबहादुर थापाले पोखराको मेयरका लागि किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, कृष्णबहादुर केसी, सरस्वती गुरुङ, निर्मल प्रसाद कर्माचार्य, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, परमेश्वर पोखरेल र ऋषि सापकोटाको नाम प्रदेश कमिटीमा पठाएका छन् ।
रौतहट
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा पाँच दलीय गठबन्धन बन्नका लागि दिइएको दबाब नगर, क्षेत्र र जिल्लाले अस्वीकार गर्दै सबै स्थानीय तहमा एकल रूपमा नाम सिफारिस गरेको छ ।
तीन पटक बसेको गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कांग्रेसले एकल रूपमा नगरपालिका र गाउँपालिकाका मेयर उपमेयरको नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाएको छ । तर, गठबन्धन र आन्तरिक द्वन्द्वका कारण राजपुर फरहदवा र विजयपुर फतुवाका मेयरले कांग्रेस परित्याग गरी क्रमशः नेकपा एमालेमा आबद्धता र स्वतन्त्र भएको घोषणा गरेका छन् ।































प्रतिक्रिया