निर्वाचन आयोगद्वारा आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम तय

निर्वाचन आयोगद्वारा आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम तय

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले वैशाख ११ र १२ गते (भोलि र पर्सि) स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ। 

आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख ११ र १२ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्न आह्वान गरेका हुन् । 

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरुलाई रुचाएको पदमा उम्मेदवारी दिन सक्ने वातावरण बनाई दिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई आग्रह गरेको छ । 

उम्मेदवारी मनोनयनमा चाप पर्न नदिन दुई दिन उम्मेदवार मनोनयनका लागि समय दिइएको पनि आयोगले स्पष्ट पारेको छ । आयोगका प्रवक्ता पौडेलले ०७४ सालको स्थानीय तह निर्वाचनमा एकै दिन मनोनयन गर्दा अत्याधिक चाप देखिएकाले त्यसो हुन नदिन यो पटक दुई दिनको समय दिनु परेको बताए । 

निर्वाचन आयोगले पत्रकार भेटघाट कार्यक्रममा बैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र १७ गते भोलिपल्ट उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको निर्वाचन कार्यतालिकाबारे पनि स्मरण गराइएको छ ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने विशेष जिम्मेवारी राजनीतिक दल र तिनका उम्मेदवारहरुको रहेको उल्लेख गर्दै आयोगका प्रवक्ता पौडेलले सोही जिम्मेवारी पूरा गर्न उनीहरु सक्षम हुने विश्वाससमेत व्यक्त गरे । आयोगले नेपालको संविधानले व्यवस्था गरेको महिलाहरुसहितको समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरि निर्वाचनमा उम्मेदवारी तय गर्न संवेदनशील भईदिन पनि राजनीतिक दलहरुलाई सचेत गराएको छ। 

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि राजनीतिक दलहरु र तिनका उम्मेदवारहरुको गम्भीर ध्यानाकर्षण गराएको छ। अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताए।

Skip This
Skip This
Logo