चुनावप्रति निराश सर्वसाधारण भन्छन्, ‘नेताहरुको स्वार्थका लागि आएको चुनावकाे कुनै अर्थ छैन’

चुनावप्रति निराश सर्वसाधारण भन्छन्, ‘नेताहरुको स्वार्थका लागि आएको चुनावकाे कुनै अर्थ छैन’

केन्द्रबिन्दु
0
Shares

यतिबेला देश स्थानीय निर्वाचनमय भएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि अहिले सबै राजनीतिक दलहरु तयारीमा छन् भने कार्यकर्ताहरु पनि भोट तान्न लागि परेका छन्। संविधान अनुसार हरेक ५ वर्षमा चुनाव हुनै पर्ने भएकाले यसपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । 

तर कतिपय सर्वसाधारण भने चुनावप्रति वितृष्णा जगाइरहेका छन् । राजधानीमा रोजीरोटीका लागि आएका बाहिर जिल्लाका नागरिकलाई चुनावले छाेएको छैन । उनीहरु जसले जिते पनि आफ्नो दैनिकीमा केही फरक नपर्ने बताउँछन् ।

सिन्धुली घर भएका मानबहादुर हमाललाई यो चुनावले केही होला जस्तो लागेको छैन । उनी नेताहरुको स्वार्थको रुपमा चुनावलाई लिन्छन् । 'विगतमा पनि भोट हालिएको थियो, खै के भयो त ?' उनी प्रश्न गर्छन् । नेताहरुले चुनावमा भोट माग्न अनेक झुटा आश्वासन दिने गरेको र चुनाव जितेपछि केही काम नगरेको उनको बुझाइ छ । अहिलेको चुनाव पनि त्यसकै निरन्तरता भएको हमालले बताए ।  

यता दोलखाकी चण्डिका विकलाई भने चुनावमा गाउँ जान मन लागेको छ तर जाने-आउने समय र खर्चले उनी चाहेरै पनि भोट हाल्न जान नसक्ने बताउँछिन् । 'जाने र आउने समय तीन दिन जति लाग्छ। खर्च ५ हजारले पनि पुग्दैन । यति खर्च गरेर गयो, भोट हाल्यो । जितेपछि नेताले वास्तै गर्दैनन् ।' उनी भन्छिन् । चुनावप्रति चासो हराउँदै गएको चण्डिकाको अनुभव छ । 

यस्तै चुनावमा गरिने खर्चले देशको विकास गर्ने हो भने धेरै उन्नती हुने भनाइ व्यक्त गर्छन् रसुवामा प्रेम लामा । उनी राजधानीमा दैनिक ज्यालादारी गर्छन् । नेताहरुले चुनावको गलत व्याख्या गरेर देश लुटिरहेको उनको आरोप छ । जनताका लागि काम गर्ने नेता नै छैनन् । उनी भन्छन्, 'चुनाव जनताका लागि होइन, नेताका लागि मात्र आएको छ ।' 

सुप्रिया तामाङ (प्रशिक्षार्थी पत्रकार)

Logo