काठमाडौं जिल्लाका ११ नगरपालिकाका मेयर उम्मेदवार मध्ये कसैकाे चर्चा छ भने यतिखेर टाेखा नगरपालिकाकी मेयर उम्मेदवार रजनी थापाकाे पनि चर्चा छ।
नेपाली कांग्रेसले टोखा नगरपालिकाको मेयरमा रजनी थापालाई उम्मेदवार बनाएपछि नगरभित्र तरंग उत्पन्न भएको हाे। यसअघिकाे स्थानीय निर्वाचनमा थापा ५१ मतले उपमेयरमा पराजित भएकी थिइन् । तर यसपटक भने उनी मेयरमा उम्मेदवार भएकी हुन्। यसपटककाे मेयरमा उम्मेदवार दिएका मध्ये उनी कान्छी उम्मेदवार पनि हुन् ।
टाेखामा हुने हरेक विकास निर्माण र सामाजिक काममा संलग्न रहँदै आएकी थापाले यसपटक भने मेयरमा जित हात पार्ने दाबी गरिन्। देशभर गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रँदै गर्दा टाेखामा भने कांग्रेसले एक्लै चुनाव लड्दैछ।
यसअघि एमालेले जितेकाे यस नगरमा अहिले कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उठेका छन्। राजनीतिलाई विशुद्ध समाजसेवाकाे रूपमा लिनु पर्ने बताउँदै थापाले भनिन्, 'यसअघि टाेखाबाट जितेकाहरूले गर्न नसकेकाे काम यसपटक म गरेर देखाउँछु।'
उनी नेपाली कांग्रेसका नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ जस्ता भातृसंगठनमा बसेर कुशलतापूर्वक काम गर्दै आएकी छिन्। नगरको विकास र प्रगतिका लागि काम गर्न सक्ने क्षमता रजनीमा रहेको यहाँका नागरिकहरु बताउँछन्।
यसपटक टोखा नगरपालिका प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ। जसमध्ये सबैभन्दा धेरै चर्चा रजनी थापाकै छ। 'हामी मत मात्र हेरिरहेका छैनौं। मन र मस्तिष्कलाई जोड्ने अभियानमा पनि छौँ ।' थापाले भनिन् । कर्म गर्नुस्, फल आफैं मिल्छ भन्ने मान्यता बाेकेर अघि बढेकी थापाले विगतमा आफूले गरेका कामकाे मूल्यांकन यसपटक टाेखावासीले गर्ने विश्वास व्यक्त गरिन् ।





























प्रतिक्रिया