बनेपाका मेयरले एमाले छाडे, गोकुल बाँस्कोटाले धोका दिएको आरोप

बनेपाका मेयरले एमाले छाडे, गोकुल बाँस्कोटाले धोका दिएको आरोप

केन्द्रबिन्दु
0
Shares

बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। स्थानीय तहको निर्वाचनको टिकट वितरणमा असन्तुष्टी जनाउँदै मेयर बादेले शनिबार पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन् ।

मेयर बादेले एमालेको साधारण सदस्यतासमेत त्याग गरेको घोषणा गरेका छन् । तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको समेत उनले बताए । 'नगर प्रमुखमा तपाईं नै हो तपाईं हो भनेर अन्तिममा धोका दिइयो । त्यस्तो धोका दिने पार्टीमा बसिरहन मन लागेन', उनले भने, 'त्यसैले एमालेको साधारण सदस्यसमेत नरहने गरि परित्याग गरेको घोषणा गर्छु, एमालेबाटै नगर प्रमुख जितेको कारण त्यहाँ बस्न मेरो नैतिकताले पनि दिँदैन, कार्यालय खुलेपछि नगर प्रमुख पदबाट पनि राजीनामा दिन्छु ।’

एमाले पोलिटब्युरो सदस्य तथा काभ्रेका इन्चार्जसमेत रहेका गोकुलप्रसाद बाँस्कोटाले आफूलाई अन्तिम समयमा धोका दिएको बादेले बताए । ‘टिकटको बारेमा गोकुलजीसँग कुरा गर्दा तपाईं नै हो, तपाईं नै भन्ने कुरा भयो, तर पछि मेरो फोन नउठाउने, भेट्नै नखोज्ने गर्न थाल्नुभयो', उनले भने 'तर तपाईं नै भनेर मलाई झुक्याउनु भएको रहेछ, मलाई आश्वासन मात्र दिइएको रहेछ।’ 

सल्लाह गरेको भए आफू मान्ने पक्षमा भएको उनले बताए । मेयरका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई मेयर र उपमेयरमा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष विमला सापकोटालाई उम्मेदवार बनाएको छ। 
बादेले टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बताए । ‘एमाले नगर कमिटीको अधिवेशनमा उनलाई अध्यक्ष बनाउने बेलामा तपाईं नै मेयर हो भनेका थिए', उनले भने, 'पछि पनि ठूलोबा नै हो भन्दै आएका थिए । उनीबाट पनि बेइमानी भयो, १८ वर्षसँगै काम गरेका मान्छेलाई धोका दिनेले नगरवासीका लागि काम गर्न सक्दैनन् ।’

पूर्व एसएसपीसमेत रहेका बादे राप्रपाबाट एमाले प्रवेश गरेका थिए । एमाले बनेपा नगर कमिटीका पूर्वअध्यक्ष रहेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

Skip This
Skip This
Logo