निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो ।
‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ। चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने ।
केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तर्क्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पटीकरण सोधिएको उनले बताए।
कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुनाे ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए। त्यसपछि स्थापित थप विवादमा तानिएका थिए ।
आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।
‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घण्टा भित्र स्पटीकरण पेश गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने ।
पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले स्पष्टीकरण आयोग समक्ष बुझाउनु पर्ने उनले जनाए ।





























प्रतिक्रिया