लिभरपुललाई पराजित गर्ने रणनीतिमा भियारियल

लिभरपुललाई पराजित गर्ने रणनीतिमा भियारियल

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब लिभरपुल र स्पेनी क्लब भियारियलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने एक बजे भियारियलको घरेलु मैदान सेरामिकामा हुनेछ ।

एन्फिल्डमा भएको पहिलो लेगमा घरेलु टोली लिभरपुल २–० गोल अन्तरमा विजयी भएको थियो । अबे खेलमा भियारियललाई गोल गर्न रोकेको लिभरपुल दोस्रो लेगमा केही फाइदामा देखिएको छ । 

च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन संघर्षरत लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिका लागि पनि संघर्ष गरिरहेको छ । प्रिमियर लिगमा उपाधि होड कायम रहेको म्यानचेस्टर सिटी पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा छ र उसले पहिलो लेगमा अर्को स्पेनी क्लब रियल मड्रिडलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो । 

अर्को तर्फ ला लिगाको जारी सिजन खराब फर्मबाट गुज्रिएको भियारियल आगामी सिजन पनि च्याम्पियन्स लिगमा छनोट हुन संघर्ष गरिरहेको छ । भियारियल ला लिगाको सातौं स्थानमा छ । भियारियल पछिल्ला ७ खेलमा ३ वटामा मात्रै जित निकाल्न सफल छ । अर्को तर्फ लिभरपुल भने यो सिजन उच्च लयमा छ । लिभरपुल प्रिमियर लिगमा शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १ अंक मात्र पछि छ । लिभरपुल एफए कपको फाइनल खेल्नुका साथै लिग कप उपाधि जितिसकेको टोली हो । पछिल्लो ७ खेलमा टोलीले ५ जित र २ बराबरी गरेको छ । 

भियारियल प्रशिक्षक उनाइ एमेरीले प्रतियोगितामा अवे गोलको नियम हटाउनुले टोलीलाई केही फाइदा पुग्ने बताए । ‘घरेलु मैदानमा हाम्रो प्रदर्शन राम्रो छ । २ गोलले पछि परेको अवस्था कठिन हो, तर अवे गोलको नियम हट्नुले हामीलाई केही फाइदा छ । हामी हाम्रो घरेलु समर्थकमाझ यो अवसरको भरपुर आनन्द लिन चाहन्छौ’, उनले भनेका छन् । 

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भियारियलविरुद्व आफू तयार रहेको बताए । ‘हामी उच्च प्रदर्शन गर्ने लक्ष्य सहित उत्रनेछौँ, च्याम्पियन्स लिगको सेमिफाइनल सहज हुन्छ भन्ने सोच्नु हुँदैन र हुने पनि छैन । अर्को फाइनल कहिले खेलिन्छ थाहा छैन, यसपटक पाएको अवसरमा हामी सचेत छौँ,’ उनले थपे ।

च्याम्पियन्स लिगको अर्को सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति म्यानचेस्टर सिटी र रियल मड्रिडबीच खेल हुनेछ । 

(राजेश राई, प्रशिक्षार्थी पत्रकार)

Logo