मुगुका निलम्बित सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेको पीडितको भनाइ छ ।
बलात्कार आरोपमा जिल्ला अदालत बाँकेले बानियाँलाई पाँच लाख रुपैयाँ धरौटीमा छाडेपछि उनका आफन्तले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेको पीडितको दुखेसो छ ।
पीडितका अनुसार धरौटीमा छुटिसकेपछि सामाजिक संजाल तथा टेलिफोनबाट बानियाँका आफन्तले बयान फेर्न दबाब दिने गरेका छन् । बानियाँका आफन्त नरेन्द्रबहादुर रावलले सामाजिक सञ्जालमा लेखेका छन्, 'बयान चेन्ज गर्न सकिन्छ कि हजुर के छ ? कुरो र कुलो जता लायो उतै जाने हो ।'
१६ फागुनमा पक्राउ परेका बानियाँविरुद्ध एक महिलाले नेपालगन्जको एक होटलमा जबर्जस्ती करणी गरेको उजुर दिएकी थिइन ।
पीडित महिलाले बानियाँलाई धरौटीमा रिहा गरेर आफुलाई अन्याय भएको बताएकी छन् । उनले भनिन, ‘एक त आफू अन्यायमा छु त्यसैमा बानियाँका आफन्तबाट दबाब आउन थालेको छ । झनै असुरक्षित महसुस भइरहेको छ ।'
अन्तिम फैसला नहुँदै संसद छिर्ने बानियाँको प्रयास
प्रतिनिधि सभाका निलम्बित सांसद बानियाँ पदबहालीको निवेदनसहित एक महिनाअघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा हलचल भएको थियो । बलात्कार आरोप लागेका उनी पाँच लाख धरौटीमा छुटेपछि पदबहालीको निवेदनसहित एक महिना अघि सिंहदरबारस्थित संसद सचिवालयमा पुगेका थिए ।
सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनी सचिवालयमा निवेदन लिएर आएका थिए । उनले भने, 'उनको निवेदन दर्ता गरिएको छैन । उनी आउँदैमा हामीले निवेदन दर्ता गर्न मिल्दैन । हामी कानुनअनुसार अगाडि बढ्ने छौँ ।'
बाँके जिल्ला अदालतले २ चैतमा धरौटीमा उनलाई छोडेको थियो । मुगु खत्याड गाउँपालिका ३ का बानियाँ एमालेका समानुपातिक सांसद हुन् ।





























प्रतिक्रिया