प्रधानमन्त्री देउवा निजी गाडीमा

प्रधानमन्त्री देउवा निजी गाडीमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् ।  नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । 

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुग्नुभएको हो । श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहनुभएका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए । उनले भने , ‘यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।’

श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्ने छन् । उनले थप्, ‘सबै खर्च पार्टीले गर्नेछ ।’ सभापति देउवा र उहाँको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै छन् । पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका हुन् । उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो । उनले भने , ‘निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।’

जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आएका छन् । सभालाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

 भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छन् । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी स्वतन्त्रबाट उम्मेदवार छन् ।  

Logo