‘भाेटका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्’

‘भाेटका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्’

केन्द्रबिन्दु
0
Shares

जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारले विभिन्‍न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’

भेरी नगरपालिका-११ कटीगाउँका १ सय ५७ घर परिवार ऋणमा डुबेका छन् । ऋण तिर्न स्थानीय भारतसहित अन्य मुलुकमा राेजगारीमा जान्छन् । धेरै परिवार विस्थापितसमेत भइसकेका छन् । निर्वाचनका बेला पुग्‍ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय नरबहादुर वरले बताए  ।

‘हामी त भोट बैंक मात्र भयौं,’ उनले भने, ‘भाेटका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्।’ यसपटक ऋण तिर्ने गरि आर्यआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

उनले वर्षौंदेखि राजनीतिकले सपना बाँडिरहेको बताए। उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन् । पुर्ख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए।

गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै तीन-चार वर्षदेखि गाउँका अधिकांश मानिसहरु ऋणमा डुवेर गाउँ छोड्न बाध्य छन् ।

हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्‍ने राजनीतिक दलले दलित समुदायको समस्याहरुको कुरा वर्षौंदेखि बिर्सिरहेको उनको गुनासो छ । 

यसअघिको निर्वाचनमा गरेका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्‍नुपर्ने बेला आएको कुशे गाउँपालिका-४ का दत्तबहादुर नेपालीले बताए । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौं,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ ।’

उनका अनुसार जिल्लाभरिका २ हजारभन्दा बढी परिवार जिल्ला बाहिर छन्। अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेन्डा फेरि दोहरिएको नलगाड नगरपालिका-३ का गंगराम नेपालीले बताए । ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेन्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’

Logo