नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा गठबन्धन एक भएर जानुको विकल्प नभएको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको आवश्यकता छ कि छैन भनेर बहस चलिरहेको हुन्छ,’ अध्यक्ष नेपालले सम्बोधनको क्रममा भने, ‘कतिपयलाई हामी एक्लै सक्छौं भन्ने लागिरहेको छ। त्यो भ्रमबाट मुक्त हुनुपर्छ।’
उनले अहिले देशमा २ वटा गठबन्धन रहेको दाबी गरे। ‘अहिले देशमा २ वटा गठबन्धन छन्,’ नेपालले भने, ‘एउटा, प्रगतिशील र अर्को प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ। दक्षिणपन्थी गठबन्धनको नेतृत्व नेकपा एमाले र केपी ओलीले गरिरहेका छन्।’
ओलीले नेतृत्व गरेको गठबन्धनमा दक्षिणपन्थी शक्तिहरु सामेल भएको उनले बताए। ‘राप्रपाजस्ता दक्षिणपन्थी शक्तिहरु, राजावादी शक्तिहरु त्यहाँ सामेल छन्। विदेशीहरूसँग लम्पसार पर्नेहरू त्यो गठबन्धनमा सामेल छन्।’ नेपालले भने। सत्ता गठबन्धन उपलब्धीको रक्षा गर्नेहरुको गठबन्धन रहेको पनि उनले दाबी गरे।
‘उपलब्धिको रक्षा गर्नेहरु, संविधान जोगाउनेहरू, समाजवादको बाटोमा अघि बढ्नेहरू, गणतन्त्रका हिमायतीहरू हामी प्रगतिशील गठबन्धनमा छौं,’ नेपालले भने। नेपालले प्रगतिशील गठबन्धनमा सहभागी दलहरूको पक्षमा मतदान गर्न आह्वान गरेका छन्।
‘प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरूको पक्षमा मतदान गर्नुस्, 'अध्यक्ष नेपालले भने, ‘प्रतिगामीलाई मत हालेपछि पछुताउनु पर्नेछ। सन्तानले दुःख पाउनु पर्नेछ।’





























प्रतिक्रिया