जिम्बाब्वेमाथि नेपालको सहज जित, शृंखला १-१ को स्थितिमा

जिम्बाब्वेमाथि नेपालको सहज जित, शृंखला १-१ को स्थितिमा

केन्द्रबिन्दु
0
Shares

दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ। कीर्तिपुरस्थित टियु  क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए। सुनिलले ३८ बलमा ६ चौका प्रहार गरे । यस्तै, अविजित रहेका अर्का ओपनर आसिफ शेखले २१ बलमा ६ चौकासहित ३४ रन बनाउदा विनोद भण्डारीले तीन बलमा एक चौकासहित चार रन बनाए। जिम्बाब्वे ब्रान्डन मभुटाले एक विकेट हात पारे। 

यसअघि तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामीले कसिलो बलिङ गरेपछि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बाब्वे ‘ए’ ले नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

पहिलो इनिङमा जिम्बाब्वे ‘ए’ ३१.५ ओभरमा ८७ रनमै समेटिएको थियो। 

जिम्बाब्वेका तीन ब्याटरले मात्र दोहोरो  रन जोडेका थिए। जिम्बाब्वेका ओपनर सेफास झुवाओले १० रन बनाउदा जोनाथन क्याम्पबेलले टोलीको खातामा सर्वाधिक २७ रन थपे। यस्तै, अन्तिमसम्म अविजित रहेका ब्राड एभिन्सले २० रन बनाएका थिए।

जिम्बावेलाई सस्तैमा समेट्न नेपालका करण र सोमपालले समान तीन विकेट लिएका थिए। समान सात ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै १६ रन खर्चिदा सातै ओभर बलिङ गरेका सोमपालले १६ रन नै खर्चिए। 

यसबाहेक, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा सागर ढकालले एक विकेट हात पारे। यसअघि शुक्रबार भएको शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो। 

शृंखलाको अन्तिम खेल सोमबार हुनेछ। नेपालले पहिलो पटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध क्रिकेट शृंखला खेलेको हो। एकदिवसीय शृंखलाअघि नेपालले तीन खेलको ट्वान्टी २० शृंखला खेलेको थियो। उक्त शृंखला १–१ को बराबरीमा टुंगिएकाे थियो।

Skip This
Skip This
Logo