नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो र मस्कट सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो र मस्कट सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा आसन्न नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजना गरिएको कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गरेका हुन्।

लोगो र मस्कट खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै मस्कट डिजाइन गरेवापत उनले २५ हजार नगद प्राप्त गरे । लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटी गठन गरेको थियो।

सोही कार्यक्रममा सो खेलकुद प्रतियोगिताको नारासमेत सार्वजनिक गरियो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ। नारा सुयोग्यराज काफ्लेले रचना गरेका थिए । नारा बनाउने काफ्लेलाई १० हजार प्रदान गरियो। सिंगो राष्ट्रलाई खेलकुदको माध्यमबाट एकतावद्ध बनाउने सन्देशसहित सो प्रतियोगिताको नारा, मस्कट र लोगो सार्वजनिक गरिएको भन्दै त्यसका डिजाईनकर्ताहरु सुयोग्यराज काफ्ले र भोलानाथ पौडेललाई मन्त्री गहतराजले धन्यवाद व्यक्त गरे । उनले सो खेलकुद प्रतियोगिताका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको जानकारी दिए।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रदर्शनी खेल आयोजना गरिनेछ । एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको छ। जसमा ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ।

Skip This
Skip This
Logo