इमोसनल इन्टेलिजेन्स र सार्वजनिक प्रशासन

इमोसनल इन्टेलिजेन्स र सार्वजनिक प्रशासन

केन्द्रबिन्दु
3
Shares

काठमाडौं ।

इमोसन भनेको व्यक्तिमा भएको सम्वेग हो । यो व्यक्तिको मनबाट उत्पन्न हुने एक प्रकारको तरंग हो । जस्तै दया, माया, क्रोध, डर, त्रास आदि । व्यक्तिले आफू र अन्य व्यक्तिहरुका इमोसनहरुलाई प्रष्टसँग बुझ्ने, अनुभव गर्ने र उक्त इमोसनहरुलाई सुझबुझका साथ ब्यवस्थापन गर्दै सोही बमोजिमको व्यवहार प्रदर्शन गर्नु इमोसनल इन्टेलिजेन्स हो । यो व्यक्तिलाई कुनै पनि विषयवस्तुका बारेमा धारणा बनाउन, प्रतिक्रिया दिन, सचेत रहन, आवश्यकता अनुसार लचिलो हुन, कठिन परिस्थितिको सामना गर्न, चुनौतीपूर्ण निर्णयहरू लिनका लागि आवश्यक पर्ने सीपको समष्टिगत रुप हो ।

इमोसनल इन्टेलिजेन्सको मद्दतबाट ब्यक्तिले आफ्ना तथा अन्य व्यक्तिहरुका भावनाहरु बुझेर उक्त भावनाहरुलाई जीवनका जटिल समस्याहरु समाधान गर्नका साथै खुशी र सफल जीवनका लागि प्रयोग गर्ने क्षमता आर्जन गर्दछ । विगतका अनुभवहरु, संज्ञानात्मक क्षमता, वातावरणीय प्रभाव जस्ता विषयहरुबाट व्यक्तिमा इमोसनल इन्टेलिजेन्सको विकास हुँदै जान्छ ।

इमोसनल इन्टेलिजेन्स उच्च भएका व्यक्तिहरुको स्वभाव

इमोसनल इन्टेलिजेन्स उच्च भएका व्यक्तिहरु आफ्ना सबल र दुर्बल पक्षको बारेमा जानकारी लिन र आफ्ना क्रियाकलापले अरुलाई के कस्तो असर र प्रभाव पार्दछ भन्ने बारेमा सचेत रहन सक्षम हुन्छन् । इमोसनल इन्टेलिजेन्स उच्च भएका व्यक्तिहरुले आफ्ना व्यवहारका सम्बन्धमा गरिएका आलोचनालाई रचनात्मक रुपमा ग्रहण गर्ने र सोही अनुसार आफ्ना व्यवहार परिवर्तन गर्ने क्षमता राख्दछन् । उनीहरु विवादित विषयमा वादविवाद गर्नुको सट्टा संयम रहने र उपयुक्त समयमा संयमताका साथ आफ्ना विचारहरु प्रकट गर्ने धैर्यता राख्छन् । यस्ता व्यक्तिहरुले सामुहिक भावनामा विश्वास गर्ने, समुहमा मिलेर काम गर्ने र अनावश्यक शक्ति संघर्षमा विश्वास नगर्ने हुँदा आपसी सहमतिका साथ आफ्ना क्रियाकलापहरु संचालन गर्दछन् । उनीहरु अडानमा भन्दा लचकतामा विश्वास गर्दछन् । यस्ता व्यक्तिहरु आफ्ना मनोभावनाहरूलाई स्वचालित रूपमा चल्न नदिई आत्मनियन्त्रण कायम गर्ने, मनोभावनाबाट उद्देलित नभई शान्त भएर परिणाम बारे सोच्ने र परिणामको पुर्वानुमान गरेर सोही बमोजिम आफ्ना व्यवहारहरु प्रदर्शन गर्न सक्षम हुन्छन् भन्ने विश्वास गरिन्छ ।

इमोसनल इन्टेलिजेन्स उच्च भएका व्यक्तिहरु कठिन परिस्थितिको सहज सामना गर्ने, सम्मान आर्जन गर्ने, आफ्ना विचारहरुबाट अरुलाई प्रभावित पार्न सक्ने, अरुबाट सहजै सहयोग प्राप्त गर्न सक्ने, जस्तोसुकै कठिन परिस्थितिमा पनि शान्त रहन सक्ने, विचलित नहुने, आफ्ना संवेगहरुलाई राम्रोसँग बुझेर यसलाई उचित व्यवस्थापन गर्न सक्ने, उपयुक्त समयमा उपयुक्त विषयको उठान गर्न सक्ने, वार्ताको समयमा आफू र अरुका भावनाहरुलाई बुझेर सहज व्यवस्थापन गर्न सक्ने, सधैं उत्प्रेरित रहने, सकारात्मक सोच राख्ने लगायतका गुणहरुले युक्त हुन्छन् भन्ने विश्वास गरिन्छ ।

इमोसनल इन्टेलिजेन्स कमजोर भएका व्यक्तिहरुको स्वभाव

इमोसनल इन्टेलिजेन्स कमजोर भएका व्यक्तिहरुमा अरुको भावना नबुझ्ने, बुझ्ने कोसिस पनि नगर्ने, अरुका भावनाहरुलाई बुझेर व्यवस्थापन गर्न नसक्ने, आत्मकेन्द्रीत, आफ्ना मनोभावनाहरुलाई नियन्त्रण गर्न नसक्ने, भावना, विचार र व्यवहारका वीचको अन्तर सम्बन्धको ज्ञानको कमी भएका, आपसी समन्वय र सम्बन्धमा विश्वास नगर्ने, आफूलाई अति जाने बुझेको सम्झने भ्रममा परेका, समस्या समाधानका सीपहरुको कमी भएका, सधैं निस्क्रिय रहने लगायतका विशेषताहरु देखिन्छन् ।

सार्वजनिक प्रशासन र इमोसनल इन्टेलिजेन्स

सार्वजनिक प्रशासन नागरिकलाई सरकारको तर्फबाट सेवा प्रवाह गर्ने जिम्मेवार व्यक्तिहरुको समुह हो । कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको मान्यताले कार्यसम्पादनमा ठूलो प्रभाव पार्न सक्छ । मान्यताको लागि कर्मचारीले आफूमा इमोसनल इन्टेलिजेन्स बढाउनु पर्दछ ।

इमोसनल इन्टेलिजेन्सले सार्वजनिक प्रशासकलाई कर्मचारीहरुका वीच अन्तर्क्रिया छलफल गरेर सामुहिक धारणा निर्माण गर्न, कर्यसम्पादनका क्रममा आफू मातहतका कर्मचारीहरुलाई उनीहरुले बुझ्ने र ग्रहण गर्न सक्ने गरी निर्देशन दिन, कर्मचारीका मनोभावनाहरुलाई राम्ररी बुझेर सोही अनुसारको व्यवहार गर्न, कर्मचारीहरुका गुनासाहरुलाई ध्यानपूर्वक सुनी गुनासो व्यवस्थापनमा प्रोयाक्टिभ भएर अगाडि बढ्न, कर्मचारीहरुका मनोभावनालाई आफ्ना मनोभावनासँग तुलना गरी यही अवस्थामा आफू के गर्थे भन्ने भावनासँग कर्मचारीको मनोभावनालाई राखेर हेर्न र सोही अनुसारको धारणा निर्माण गर्न निर्देशित गर्दछ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा सरकार र सार्वजनिक प्रशासनले जनहितमा आफ्ना कार्यसम्पादन गर्नु पर्दछ । त्यसैले सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी एउटा प्रशासकका साथसाथै जनताको सेवक पनि हो । उसले जनतालाई आफ्नै परिवारका सदस्य जस्तै मानेर सेवा प्रवाह गर्नु पर्दछ । कुनै पनि सार्वजनिक निकायका पदाधिकारीहरुले आफ्ना र जनताका भावनाहरुलाई बुझ्ने र यसबाट आर्जित शक्तिलाई सार्वजनिक सेवामा प्रयोग गर्नु पर्दछ ।

आफूलाई उच्चवर्गको नसम्झने, प्रमुख र मातहतका कर्मचारीहरुका विचमा सुमधुर सम्बन्ध कायम गर्ने, मानवीय ब्यवहार प्रवर्द्धन गर्ने, अरुको ठाउँमा आफूलाई राखेर सोच्ने जस्ता मानवीय भावनाहरुको विकास गर्न सकिएको खण्डमा प्रशासक र मातहका कर्मचारीका विचमा भावनात्मक एकता कायम हुन गई कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्दछ ।

संसारलाई अरुका आँखाले हेर्ने, आफ्ना नकारात्मक विचारहरुको पहिचान गरी यसलाई हटाउने र सकारात्मक सोच तथा विचारहरुलाई दैनिक कार्यसञ्चालका क्रममा प्रयोग गर्नका लागि इमोसनल इन्टेलिजेन्सले कर्मचारीहरुलाई निर्देशित गर्दछ ।

सार्वजनिक निकायमा कार्यरत पदाधिकारीहरुले तनावपूर्ण परिस्थिति आइपरेमा विचलित नहुने, तनाव उत्पन्न गराउने क्रियाकलापहरुबाट सम्भव भएसम्म टाढै रहने, अकस्मात आइ पर्न सक्ने अनपेक्षित परिस्थितिको पूर्वानुमान गरी सहज व्यवस्थापनका लागि मानसिक रुपमा तयार रहने, तनावपूर्ण परिस्थितिको सुझबुझका साथ विश्लेषण गर्ने र जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्यता नगुमाई शान्त मनोभावनाका साथ आफ्ना व्यवहारहरुलाई नियन्त्रित र व्यवस्थित बनाउन सक्नु पर्दछ । यसले सार्वजनिक प्रशासनमा तनाव व्यवस्थापनलाई सहयोग पुग्दछ ।

व्यवस्थापनले कर्मचारीका गुनासो सुन्ने र उनीहरुको मनोभावनालाई बुझ्ने प्रयास गर्नु पर्दछ । अव्यक्त भावनाहरु कहिलेकाहीं संगठनका लागि हानिकारक हुन सक्छन् । सबैले बुझ्ने गरी आफ्ना भावनाहरुलाई उपयुक्त तरिकाले व्यक्त गर्ने वातावरणको सिर्जना हुनु पर्दछ । व्यक्त गरिएका विचार र भावनाहरुको कदर गरिनु पर्दछ ।

जुनसुकै विषयको पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छ । प्रत्येक मानिसको जीवनमा सहज,असहज परिस्थिती आइ पर्न सक्छन् । असहज परिस्थितिमा रुमल्लिएर नकारात्मक भावनाहरुका पछि लाग्ने हो भने जीवन अन्धकार तर्फ धकेलिनेछ । जस्तोसुकै असहज परिस्थितिमा पनि सकारात्मक सोचका साथ आफ्ना मनोभावनाहरुलाई व्यवस्थित गर्ने हो भने जीवन सकारात्मक दिशातर्फ अगाडि बढ्नेछ । यसबाट जीवन सुखमय बन्नेछ । शुखी जिवनले सन्तुष्टी प्रदान गर्दछ । सन्तुष्टीले कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्दछ । त्यसैले दैनिक कार्यसम्पादनलाई फलदायी बनाउन सधैं सकारात्मक सोचको निर्माण गर्नका लागि सार्वजनिक निकायका पदाधिकारीहरुलाई इमोसनल इन्टेलिजेन्सले निर्देशित गर्दछ ।

असफलतासँग डराउने मानिसले सफलता प्राप्त गर्न कठिन हुन्छ । असफलताबाट पाठ सिक्ने र पुनः अगाडि बढ्ने प्रयासले सफलता प्राप्त गर्न सहज बनाउँछ । व्यवस्थापकले कार्यसम्पादनका क्रममा आफू मातहतका कर्मचारीहरुबाट भएको गल्तिलाई सहजरुपमा लिनु पर्दछ । सुधारका लागि सुझावहरु दिने र आवश्यक सहयोग गर्नु पर्दछ । व्यवस्थापकले यहि ठाउँमा म भएको भए के गर्थें भन्ने भावनाका साथ सोच्ने र आफ्नो धारणा निर्माण गर्ने हो भने मात्र यथार्थ बुझ्न सजिलो हुन्छ ।

सार्वजनिक प्रशासन एउटा यस्तो सामुहिक जमघट हो, जहाँ विभिन्न पृष्ठभूमिका व्यक्तिहरूले एकसाथ कार्यसम्पादन गर्दछन् । विभिन्न पृष्ठभूमिका मानिसहरुका भावनाहरु पनि फरक फरक हुने हुँदा कार्यसम्पादनका सिलसिलामा द्वन्द्व उत्पन्न हुन सक्ने सम्भावना रहन्छ । यस्ता द्वन्द्व समाधान गरी सामुहिक भावनाका साथ कार्यसम्पादन गर्ने वातावरण सिर्जना गर्न इमोसनल इन्टेलिजेन्सको आवश्यकता पर्दछ ।

कार्यरत पदाधिकारीहरुको नैतिकता र आचरणमा सार्वजनिक प्रशासनको सफलताको जग अडिएको हुन्छ । सार्वजनिक प्रशासनमा कार्यरत पदाधिकारीहरुलाई श्रोत साधन र शक्ति प्रयोग गर्ने बैधानिक हैसियत प्राप्त हुन्छ । उनीहरुले आफ्ना मनोभावनालाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने हो भने उक्त श्रोत साधन र बैधानिक शक्तिको आडमा अनैतिक र भ्रष्ट आचरणको विजारोपण हुने सम्भावना प्रबल रहन्छ ।

अनैतिक तथा भ्रष्ट आचरणले सार्वजनिक प्रशासनको सफलताको जग कमजोर बनाउँछ । प्रशासकहरुले आफ्नो अनियन्त्रित भावनाका आधारमा निर्णय गरेमा नियम कानुन विधि पद्धति भन्दा बाहिर गएर निर्णयहरु हुने सम्भावना रहन्छ । यसरी भावनाबाट निर्देशित भएर गरिएका निर्णयहरु भ्रष्टाचारको प्रस्थान विन्दु बन्न सक्छन् । यसले सार्वजनिक प्रशासनको गरिमामा चोट पुर्‍याउनुका साथै यसका आदर्श मूल्य मान्यताहरु समेत स्खलित हुन जाने र समग्र राष्ट्र नै भ्रष्टाचारको दलदलमा फस्न पुग्छ । त्यसैले हरेक प्रशासनिक निर्णयहरुमा सदाचार र नैतिकताको आधारसिला खडा गर्न इमोसनल इन्टेलिजेन्सको प्रयोग हुनु पर्छ भन्ने मान्यता राखिन्छ ।

अन्त्यमा,

इमोसनल इन्टेलिजेन्स उच्च भएको व्यक्तिले सामुहिक लक्ष्य पूरा गर्न कर्मचारीहरुका विचमा असल सम्बन्धको विकास, कर्मचारीहरुलाई कार्यसम्पादनमा उत्प्रेरित गर्ने, एकतर्फी निर्देशन भन्दा आपसी समन्वयमा ध्यान दिने, संगठनमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको महत्व बुझ्ने र काम प्रति उत्प्रेरित गराउने, प्रशासन सञ्चालनका क्रममा आफ्ना नकारात्मक व्यवहारहरुलाई निरुत्साहित गर्दै सकारात्मक व्यवहारलाई प्रबर्द्धन गर्न आफ्नो ध्यान केन्द्रीत गर्दछ । यस्ता व्यक्तिहरुले भावनाहरुबाट उद्देलित भएर निर्णय गर्दैनन् ।

सार्वजनिक प्रशासन नागरिकलाई सरकारको तर्फबाट सेवा प्रवाह गर्ने जिम्मेवार व्यक्तिहरुको समुह भएको हुँदा कर्मचारीहरुमा आफू कार्यरत संगठन प्रति वितृष्णा पैदा हुन दिनु हुँदैन । कर्मचारीहरुमा संगठनको खराब व्यवस्थापन प्रति वितृष्णा पैदा हुन सक्छ, संगठन प्रति होइन । संगठनबाट कुनै कर्मचारी हटाएर वा आफूले संगठन छाडेर यस्ता समस्या समाधान हुँदैन । इमोसनलन इन्टेलिजेन्स सम्बन्धी ज्ञानले सार्वजनिक प्रशासकलाई आफू र अन्य कर्मचारीहरुका भावना र कार्यक्षमतालाई अझ राम्रोसँग बुझेर उनीहरूमा रहेको अन्तरनिहित क्षमताको उच्चतम उपयोग गर्न सहयोग गर्दछ ।

Logo