काठमाडौं । सांसदहरुले कोरोना भाइरस नियन्त्रणका लागि व्यवस्थित आइसोलेसन र समुदायमा जनचेना अभिवृद्धि गर्नुपर्ने बताएका छन । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा भएको छलफलमा सांसदहरुले त्यस्तो बताएका हुन् । लक्षण नभएका व्यक्तिहरुलाई होम आइसोलेसनमा राख्ने सरकारको नीतिले संक्रमणको दर बढेको सांसदहरुको आरोप छ । बैठकमा सांसदहरुले होम आइसोलेसनको विकल्प खोज्नुपर्ने, तरकारी बजारमा अनुगमनको दायरा बढाउनुपर्ने र विभिन्न संघ संस्था तथा पार्टीका कार्यकर्ताहरुलाई स्वयमसेवी रुपमा परिचालन गर्नुपर्ने बताए ।
होम आइसोलेसन व्यवस्थित गर्नुपर्ने सांसद सरिता न्यौपानेको भनाइ छ । उपत्यकाका अधिकांश घरहरुमा पुरै परिवारका लागि एउटा मात्रै शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेकाले संक्रमितका लागि उचित व्यवस्था गर्नुपर्ने उनले बताइन् । उनले ल्याबको रिपोर्ट ढिला आउँदा पनि संक्रमणको दर बढ्न सहयोग पुगिरहेकोतर्फ ध्यानाकर्षण गराइन् ।
त्यस्तै सांसद अञ्जना विशंखेले स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका व्यक्तिहरुको सूची संकलन गरी स्वयमसेवी रुपमा परिचालन गर्नेगरी अगाडि बढ्नुपर्ने धारणा राखिन । साथै, निःशुल्क सेवा गर्न सक्ने र पारिश्रमिक लिएर काम गर्नेहरुलाई वर्गिकरण गरेर परिचालन गर्नुपर्नेमा उनको जोड छ ।
सांसद सन्त थारुले सीमा क्षेत्रमा कडाई गरेर विभिन्न संघ संस्था र पार्टीका कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणका लागि परिचालन गर्नुपर्ने बताए । टेलिभिजनमा देखिने गरी कुरा गरेर मात्रै नगरेर काम पनि सही तरिकाले गर्नुपर्ने भन्दै उनले आक्रोश पोखे ।
त्यस्तैगरी उपसमिति संयोजक जीवनराम श्रेष्ठले बजारमा गुणस्तरहिन स्यानिटाइजर बिक्री भइरहेको गुनासो आएकाले अनुगमन गर्नुपर्ने बताए । कालीमाटी तरकारी बजारमा धेरै संख्यामा संक्रमण रहेका व्यक्तिहरु रहेको आशंका व्यक्ति गर्दै उनले व्यापार व्यवसाय गर्न नपाउने डरले लुकेर बसेका संक्रमितलाई खोज्नुपर्ने धारणा राखे ।































प्रतिक्रिया