बागलुङको तमानखोला गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उपाध्यक्षका उम्मेदवारले एक मत मात्रै पाएका छन् । पाँचदलीय गठबन्धनबाट तमानखोला गाउँपालिका उपाध्यक्षकाे मैदानमा उत्रिएका नेकपा एसका तारानाथ सिर्पालीले जम्मा एक मत मात्रै पाएका हुन्।
गठबन्धनले जिल्लाभर भागबण्डा गर्दा समाजवादीलाई तमानखोलामा उपाध्यक्ष परेको थियो। उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृत लालप्रसाद लामिछानेले जानकारी दिए।
जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि तमानखोला गाउँपालिकामा सहमति विपरित नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए।
उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हीराकुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छिन् भने जनता समाजवादी पार्टीकी गीता घर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत लामिछानेले बताए।
यस पालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका जोकलाल बुढा २ हजार ७०७ मतका साथ विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले १ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गरेका छन्।
गठबन्धन अनुसार नेकपा एसकाे भागमा उपाध्यक्ष परेर सिर्पालीले टिकट लिएर मनोनयन दिए पनि स्थानीयस्तरमा कांग्रेसले असन्तुष्ट बन्दै छन्त्याललाई उठाएको थियो।





























प्रतिक्रिया