कोरोनाका कारण रेस्टुरेण्ट र पार्टी प्यालेस व्यवसायी पलायन हुँदै

कोरोनाका कारण रेस्टुरेण्ट र पार्टी प्यालेस व्यवसायी पलायन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोभिड–१९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेण्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । जावलाखेलस्थित बगैँचा रेस्टुरेण्ट बार एण्ड ब्याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ । रेस्टुरेण्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा, टर्कि, कडकनाथ, कालिज लगायत कुखुरा पाल्न थालिएको जानकारी दिए । बैंकको ऋण, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने देखेपछि लोकल कुखुरा लगायत पाल्न थालिएको उनको भनाइ छ । करिब ५ करोड रुपैयाँको लागतमा सञ्चालित बगैँचाले रेस्टुरेण्ट सेवा, पार्टी प्यालेस लगायतको सेवा उपलब्ध गराउँदै आएको थियो । सामान्य अवस्थामा २५ जनाले रोजगारी पाएको रेस्टुरेण्टमा अहिले २ जना मात्रै कार्यरत छन । रेस्टुरेण्टमा पालिएको कुखुरा, टर्कि, कालिज लगायतको खपत सहज रुपमै भएपछि आफ्नै रेस्टुरेण्टमा पाल्ने योजना बनेको उनको भनाइ छ ।

त्यस्तै रेस्टुरेण्ट व्यवसाय जस्तै देशभर सञ्चालित अधिकांश पार्टी प्यालेस व्यवसायीहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् । पार्टी प्यालेस व्यवसायीहरुको छाता संगठन ‘नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ’ ले लकडाउन सुरु हुनुभन्दा पहिले २०७६ चैत ७ गतेदेखि नै देशभरका व्यवसाय बन्द गर्न व्यसायीहरुलाई परिपत्र गरेको थियो । चैत ११ गतेदेखि लकडाउन भयो र साउन महिनामा लकडाउन खुकुलो बनाइएपनि पार्टी प्यालेसहरु खुल्न सकेनन् । वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय पनि हो । तर ती महिनामा पार्टी प्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुले बताएका छन् । पार्टी प्यालेस व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको क्षेत्रको यो व्यवसायमा अर्बौ रुपैयाँ नोक्सानी भइसकेको बताए । उपत्यका लगायत अधिकांश जिल्लामा दोस्रो पटक निषेधाज्ञा जारी भएपछि सम्पूर्ण व्यवसायीको मनोबल खस्किएको पनि उनले बताए । अबको तीन चार महिना यसैगरी बन्द भएमा उपत्यकामा मात्रै २ सयभन्दा बढी व्यवसायीहरु विस्थापित हुने पाण्डेको भनाइ छ ।

महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् । जसमध्ये १५ प्रतिशत स्थायी रुपमा कार्यरत छन् । लकडाउन भएयता तीन महिनासम्म सबै कर्मचारीलाई पुरै तलब दिएकोमा त्यसपछि भने अधिकांश व्यवसायीले आधा तलब पनि मुस्किलले दिन सकेको प्रवक्ता पाण्डेले जानकारी दिए । उनले व्यवसाय गर्न सक्ने स्थिति नरहेपछि अब व्यवसायलाई के मा परिणत गर्न सकिन्छ भन्ने चिन्तामा व्यवसायीहरु पुगेको बताए । ७० प्रतिशत व्यवसाय बैंकको ऋणबाट सञ्चालित रहेकोमा सरकारले किस्ता र ब्याज रकम व्यवसाय पुनः सञ्चालनमा आएपछि मात्रै तिर्ने व्यवस्था मिलाउन समेत महासंघले अपिल गरेको उनको भनाइ छ । अहिलेको स्थितिमा व्यवसाय सञ्चालन गर्दापनि र नगर्दा पनि व्यवसायीहरु जोखिममा रहेको पाण्डेले बताए ।

कोभिडकाे बीचमा पनि व्यवसाय सञ्चालन गर्नका लागि सरकारले मापदण्ड तयार गरी दिनुपर्नेमा पाण्डेले जोड दिए । महासंघमा अवद्ध रहेका ४५ जिल्लाका ७ हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सहित सबै जिल्लाका व्यवसायीहरु कसरी भाडा तिर्ने र कर्मचारीको व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहेको बताए । सरकारले अन्य व्यवसायलाई जस्तै सञ्चालन गर्न दिएर प्रोत्साहन गर्ने नीति लिनुपर्ने उनको भनाइ छ ।

Logo