लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले तेस्रो

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले तेस्रो

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेस  अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो ।

माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ । नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये गुल्मी, रोल्पा, बर्दिया र रुकुम पुर्वका सबै पालिकाको मतगणना सकिएको आयोगले जनाएको छ । 

रुपन्देहीमा सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, कञ्चन, ओमसतिया र शुद्धोधन गाउँपालिकाको नतिजा आएको छ । जसमा देवदह नगरपालिका र ओमसतिया गाउँपालिका एमालेले जितेको छ भने सिद्धार्थनगर, कन्चन र शुद्धोधनमा काँग्रेस विजयी भएको छ ।

गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतपरिणाम अनुसार पाँचवटा पालिकामा काँग्रेस, चारवटा पालिकामा माओवादी केन्द्र र तीन वटा पालिकामा एमालेले जित हात पारेको छ ।

जिल्लाको दुई नगरपालिका मध्ये रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसले जित निकालेको छ भने मुसिकोट नगरपालिका एमालेले जितेको छ । काँग्रेसले कालिगण्डकी, गुल्मीदरवार, मदाने र ईश्मा गाउँपालिका जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले चन्द्रकोट, धुर्कोट, मालिका र रुरु गाउँपालिकामा जित निकालेको छ भने एमालेले मुसिकोट सहित छत्रकोट र सत्यवतीमा जित हात पारेको छ ।

त्यस्तै प्यूठानको पनि मतपरिणाम आउने अन्तिम तयारीमा छ । झिमरुकमा माओवादी र गौमुखीमा कांग्रेसले जित्ने निश्चित जस्तै छ । दाङको घोराही र तुल्सीपुरमा मतगणना भइरहेको छ । दुवैमा एमाले अगाडि छ ।

बाँकेको नरैनापुर गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ, खजुरा, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतगणना भइरहेको छ । नवलपरासी पश्चिममा बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, सुस्ता, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा मतगणना जारी छ । 

Logo